खेलविविध

रात्रिकालीन खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

झापाको शिवसताक्षी नगरपालिकाले स्थानीय दुधे रङ्गशालामा रात्रिकालीन खेलकुद प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यसहित फ्लडलाइट जडानको प्रक्रिया अघि बढाएको छ ।

नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको गन्तव्यका रूपमा परिचित गराउने योजनाअनुसार रङ्गशालाको स्तरोन्नति थालिएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब रु चार करोडको लागत अनुमान गरिएको उक्त परियोजनाको पहिलो चरणका लागि रु एक करोड तीन लाखको ठेक्का प्रक्रिया पूरा भइसकेको छ ।

“ठेक्का सम्झौता हुनासाथ निर्माण कार्य सुरु हुनेछ,” नगरप्रमुख थोप्राले भन्नुभयो, “आवश्यक थप बजेटको जोहो हुन सके आगामी पुसभित्रै फ्लडलाइट जडानको काम सम्पन्न गर्ने लक्ष्य छ ।” बाँकी बजेट व्यवस्थापनका लागि सङ्घीय तथा प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य भइरहेको उहाँले बताउनुभयो ।

परियोजनाअन्तर्गत रङ्गशालाको चारै कुनामा ३० मिटर अग्ला चारवटा टावर निर्माण गरिनेछन् । नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर उत्तम बरालका अनुसार पहिलो चरणमा टावर निर्माणसँगै जेनेरेटर, ट्रान्सफर्मर र विद्युत् आपूर्तिका लागि आवश्यक केबल जडानको काम हुनेछ । दोस्रो चरणमा प्रत्येक टावरमा कम्तीमा एक हजार वाट क्षमताका बत्ती जडान गरिनेछन् ।

मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक हजार दुई सयदेखि एक हजार चार सय लक्ससम्मको प्रकाश पुर्याउने लक्ष्य राखिएको इन्जिनियर बरालले बताउनुभयो ।

पर्याप्त र सन्तुलित प्रकाश व्यवस्थाका कारण खेलाडी तथा बलको छायाँले खेलमा कुनै बाधा नपुग्ने गरी प्राविधिक डिजाइन गरिएको छ । फ्लडलाइट जडान भएसँगै दुधे रङ्गशालामा फुटबलका साथै एथलेटिक्सलगायतका खेलकुद गतिविधि रातिको समयमा पनि सहजै सञ्चालन गर्न सकिनेछन् ।

करिब दुई दशकअघि स्थानीय युवाले फुटबल खेल्ने सामान्य चौरका रूपमा रहेको दुधे मैदानले पछिल्लो समय व्यवस्थित रङ्गशालाको रूप लिएको हो ।

विगतमा भवानी स्मृति कप, पूर्वाञ्चलस्तरीय प्रतियोगिता र देशका चर्चित ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा दुधे गोल्डकप सफलतापूर्वक आयोजना भएपछि यस मैदानले नेपाली फुटबल जगतमा छुट्टै पहिचान बनाएको छ । फ्लडलाइट योजनाले पूर्णता पाएपछि दुधे रङ्गशाला कोशी प्रदेशकै एक सुविधायुक्त आधुनिक खेलस्थलका रूपमा स्थापित हुनेछ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.