प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । नयाँदिल्लीमा मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले नेपाली जनताको तर्फबाट भारतीय प्रधानमन्त्रीसहित भारतका जनतालाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभएको हो ।
प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित विशिष्ट सम्बन्धका रूपमा व्याख्या गर्नुभयो । उहाँले यस सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका आधारमा नयाँ युगको रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाल र भारतबीचको मित्रतामा विश्वास हिमालझैँ अग्लो, सहकार्य नदीझैँ अविरल र दुवै देशको समृद्धि साझा आकाशमुनि फक्रियोस् भन्ने कामना गर्नुभयो । दुई देशबीचको सम्बन्धको केन्द्रमा दुवै देशका जनता रहेको उल्लेख गर्दै उहाँले जनस्तरको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल–भारतबीचको आवतजावत सहज बनाउन हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार भइरहेको बताउँदै प्रधानमन्त्री शाहले रेलसेवा सञ्चालन र साझा समझदारीमार्फत सम्बन्धलाई थप जीवन्त बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
युवाका आकांक्षा पूरा गर्ने, विद्यार्थीलाई अध्ययनका अवसर उपलब्ध गराउने र उद्योगीलाई विकासमा फड्को मार्ने वातावरण निर्माण गर्न दुवै देशबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
हिमालय क्षेत्रका जलस्रोतले नेपाल र भारतसहित यस क्षेत्रका करोडौँ मानिसलाई जीवन दिइरहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनका चुनौती सहकार्यबाट सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
हिमालयबाट बगेर गङ्गामा मिसिने नदीहरूले दुवै देशको साझा भविष्य र गन्तव्यलाई जोडेको उहाँको भनाइ थियो । नेपालको समृद्धि र विकासका लागि भारतीय लगानी तथा साझेदारी आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीले दिनुभएको निमन्त्रणा र न्यानो आतिथ्यका लागि आभार व्यक्त गर्नुभयो । साथै, भगवान् पशुपतिनाथ, माता जानकी, मुक्तिनाथ, जीवित देवी कुमारी तथा भगवान् गौतम बुद्धको जन्मस्थल रहेको पवित्र नेपाली भूमिमा भारतीय प्रधानमन्त्री र जनतालाई भ्रमणका लागि आमन्त्रण गर्नुभयो ।
राजकीय भ्रमणका क्रममा प्रधानमन्त्रीद्वयले सम्पन्न भएका केही आयोजनाको उद्घाटन गर्नुभएको थियो । दुवै नेताले आगामी दिनमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्