अर्थ

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित

आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार करदातालाई सम्मान गरेको छ ।

सप्ताहव्यापी ‘राष्ट्रिय कर दिवस, २०८३’ को समापन समारोहका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई फूलमाला तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सम्मानित हुनेमा झापाबाट एनएसबी ट्रेड एण्ड सप्लायर्स, इलामबाट अन्नपूर्ण ट्रेडर्स, ताप्लेजुङबाट आशिका आयल सप्लायर्स र पाँचथरबाट श्रेष्ठ ट्रेडिङ सप्लायर्स रहेका छन् । सोही अवसरमा कार्यालयले उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा टीकाराम दाहाललाई सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले इमान्दारीपूर्वक कर तिर्नु असल नागरिकको पहिचान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “इमान्दारीपूर्वक कर तिर्नु राष्ट्रको समृद्धिमा योगदान गर्नु हो । करदातालाई सन्तुष्ट बनाएर कर सङ्कलन गर्न सक्नुपर्छ । कर न्याय छिटोछरितो हुनुपर्छ ।”

उहाँले सबै पक्षको साझा प्रयासबाट सुशासनयुक्त प्रशासन निर्माण गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत गोपालबहादुर थापाले कर राज्यले नागरिकबाट लिने अनिवार्य शुल्क मात्रै नभएर राज्य र नागरिकबीचको विश्वास, उत्तरदायित्व तथा विकास साझेदारीको महत्वपूर्ण कडी भएको बताउनुभयो ।

नागरिकले आफूले तिरेको करको सही सदुपयोग भएको अनुभूति गर्न सके मात्रै कर प्रणालीप्रति विश्वास र सुशासन कायम हुने उहाँको भनाइ थियो । उहाँले राष्ट्रिय कर दिवसका अवसरमा कार्यालयले उत्कृष्ट करदाता सम्मान, कर शिक्षा कार्यक्रम तथा अन्तरक्रियालगायत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.