विपद्बाट म्याग्दीका जलविद्युत् क्षेत्रमा धक्का, उत्पादन र निर्माण प्रभावित
यस वर्षको मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको उत्पादन, प्रसारण र निर्माण प्रक्रियामा गम्भीर असर पारेको छ ।
कालीगण्डकी र म्याग्दी नदीका साथै तिनका सहायक खोलामा आएको बाढी र पहिरोले निर्माण सम्पन्न तथा निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति पुर्याएको हो ।
बाढीपहिरोका कारण केही आयोजना पूर्णरूपमा बन्द भएका छन् भने केहीको विद्युत् उत्पादन र परीक्षण प्रभावित भएको छ । निर्माणाधीन आयोजनामा निर्माण सामग्री ढुवानी र उपकरण परिचालन अवरुद्ध हुँदा कामको गति सुस्त भएको छ ।
यसले आयोजना सम्पन्न हुने अवधि लम्बिने र निर्माण लागत बढ्ने जोखिमसमेत सिर्जना गरेको छ । कालीगण्डकी र म्याग्दीखोला बेसिनमा दर्जनौँ आयोजना निर्माण तथा सञ्चालनमा छन् तर प्राकृतिक विपद्का कारण जलविद्युत् क्षेत्रको उत्पादन संरचना र निर्माण प्रक्रियामाथि परेको पछिल्लो असरले ऊर्जा विकासका लागि भौतिक पूर्वाधारको सुरक्षा र विपद् व्यवस्थापन कति महत्वपूर्ण छ भन्ने प्रश्न उठाएको छ ।
अस्थायी टावरबाट विद्युत् आपूर्ति
कालीगण्डकी नदीको कटानले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनमा क्षति पु¥याएको थियो । अन्नपूर्ण गाउँपालिका–१ दोबाको औलमा दुईवटा र रातोपानीमा एउटा टावर बगाएको बाढीले धिरच्याङस्थित टावरमा आंशिक क्षति पु¥याएको छ । तिप्ल्याङ क्षेत्रको अर्को टावरसमेत नदी कटानको जोखिममा परेको छ ।
प्रसारण लाइन अवरुद्ध हुँदा म्याग्दीको उत्तरी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको थियो । नेपाल विद्युत् प्राधिकरणको पोखरास्थित ग्रिड कार्यालयका प्रमुख रोशन खड्काका अनुसार भिरकाटे क्षेत्रमा अस्थायी टावर निर्माण गरी करिब दुई किलोमिटर तार तानेर असोज ३१ गतेदेखि विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको हो ।
बाढीबाट क्षतिग्रस्त प्रसारण लाइन र टावरको पुनर्निर्माण प्रक्रिया पनि अघि बढाइएको प्राधिकरणले जनाएको छ । यस प्रसारण लाइनबाट अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका घलेम्दीखोला (पाँच मेगावाट), म्रिस्त्रीखोला (४२ मेगावाट), निलगिरी–१ (३८ मेगावाट), निलगिरी–२ (७१ मेगावाट), रेलेखोला (छ मेगावाट) र मुस्ताङको थापाखोला (१४ मेगावाट) आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिँदै आएको छ ।
दुई आयोजना बन्द, अर्बौँको क्षति
बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा सञ्चालित दुईवटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । नारच्याङको रेलेखर्क क्षेत्रबाट आएको बाढीले बाँधमा गेग्रान थुपारेपछि छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको आयोजनाका प्रतिनिधि होमनाथ पाण्डेले बताउनुभयो ।
त्यस्तै, साउन २६ गतेको सुक्खा पहिरोले विद्युत्गृह पुरिएपछि प्रभावित बनेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको बाँधमा असोज दोस्रो साताको बाढीपहिरोले थप क्षति पुर्याएको छ । विद्युत्गृह पहिरोमा पुरिँदा एकको मृत्यु र एक घाइते भएका थिए । विद्युत्गृहका सबै उपकरण पहिरोमा पुरिएका छन् ।
आयोजनाको पुनर्निर्माणको तयारी भइरहेको प्रर्वद्धक म्याग्दी हाइड्रोपावरका कर्मचारी अनिल तिवारीले बताउनुभयो । उहाँका अनुसार विपद्का कारण आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।
कालीगण्डकी बेसीनका आयोजना निर्माण प्रभावित
कालीगण्डकी बेसीनमा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको काम पनि एक महिनादेखि प्रभावित भएको छ ।
कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठका अनुसार मुस्ताङको घाँसास्थित थाप्लामा रहेको बाँध निर्माणस्थलमा बाढी र पहिरोले गेग्रान थुपारेपछि निर्माण कार्य प्रभावित भएको हो । आयोजनाले हालै दुईवटा अडिट सुरुङ खन्ने काम सुरु गरेको थियो ।
मध्यकालीगण्डकी जलविद्युत् आयोजनाका प्रवद्र्धक हाइड्रो सपोर्ट प्रालिको लगानीकर्ता आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार कालीगण्डकी नदीको बाढीले बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्क र कार्यशालामा ठूलो क्षति पुर्याएको छ ।
अन्नपूर्ण गाउँपालिका–३ र ४ को सिमानामा पर्ने सुकेबगरस्थित बाँध निर्माणस्थलमा डाइभर्सन भत्काएर पसेको बाढीले गेग्रान थुपारेको छ । सुरुङको अडिटभित्रसमेत बाढी पसेको छ । अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गा र रातोपानीस्थित आवास भवन भत्किनुका साथै त्यहाँ रहेका सामग्री बगाएको छ ।
नौलीबगरस्थित निर्माणाधीन भूमिगत विद्युत्गृहअगाडि रहेको बेनी–जोमसोम–कोरला सडकको मोटरेबल पुलको पोखरेबगरतर्फको पहुँचमार्गसमेत नदीले बगाएको छ ।
बाढीपहिरोबाट क्षति पुगेपछि निर्माण कार्य रोकिएको सिभिल ठेकेदार रसुवा–मल्टी जेभीका कर्मचारी दिपेन्द्र शर्माले बताउनुभयो । उहाँका अनुसार विपद्का कारण आयोजनाको निर्माण अवधि लम्बिने देखिएको छ ।
राहुघाटको परीक्षण अवधि लम्बियो
रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह क्षेत्रमा कालीगण्डकी नदीको कटानले क्षति पु¥याएपछि ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण अवधि लम्बिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको आयोजनाको टेलरेस गेटमा बाढीले क्षति पुर्याएको थियो ।
विद्युत्गृहबाट उत्पादनपछि पानी नदीमा पठाउने संरचनामा क्षति पुग्नुका साथै नदीले धार परिवर्तन गरेर स्विचयार्ड नजिकैसम्म कटान गरेको थियो । टेलरेसबाट विद्युत्गृहभित्र पानी पसेर डुबानसमेत भएको थियो ।
असोज पहिलो सातादेखि परीक्षण उत्पादन सुरु गरेको आयोजना बाढीका कारण पूर्णरूपमा बन्द भएको थियो । क्षतिग्रस्त संरचना र उपकरण मर्मत गरी पुनःपरीक्षण भइरहेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । उहाँका अनुसार हाल २०÷२० मेगावाट क्षमताका दुईवटा युनिट आलोपालो सञ्चालन गरेर परीक्षण उत्पादन भइरहेको छ ।
बाँध जोड्ने पहुँचमार्ग मर्मत गर्नुका साथै झिँ र दग्नामको सिमानामा रहेको बाँध क्षेत्रमा थुप्रिएको गेग्रान हटाइएको छ । बाढीले राहुघाट आयोजनाको विद्युत्गृह क्षेत्रसँगै बेनी–जोमसोम–कोरला सडकको करिब १५० मिटर भागसमेत कटान गरेको छ । स्विचयार्ड उच्च जोखिममा परेको छ भने आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन र उपकरणसमेत बगाएको छ ।
म्याग्दीखोला बेसिनमा ढुवानीको समस्या
म्याग्दीखोला बेसीनमा निर्माणाधीन जलविद्युत् आयोजनाहरू पनि बाढीपहिरोका कारण प्रभावित भएका छन् । घुमाउने (फापरखेत), बालौटे, बाङ्गेपहिरो र इल्पुमा पहिरो तथा शिवरात्रि खोलामा आएको बाढीका कारण निर्माण सामग्री र उपकरण ढुवानीमा समस्या भएको अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले बताउनुभयो ।
उहाँका अनुसार असारयता सिमेन्ट, रडलगायत निर्माण सामग्री तथा उपकरण बोकेका सवारीसाधन आयोजना स्थलसम्म पुग्न सकेका छैनन् । मौजुदा सामग्री र उपकरण परिचालन गरेर कामलाई निरन्तरता दिइए पनि अपेक्षित गतिमा निर्माण अघि बढ्न सकेको छैन ।
शिवरात्रि खोलामा पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भइरहेको मोटरेबल पुल समयमा सम्पन्न नहुँदा वर्षायाममा सवारीसाधन वारपार गर्न समस्या हुने गरेको छ ।
म्याग्दीखोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीका अनुसार खोलामा पानीको सतह बढ्ने र पहुँचमार्गमा पहिरो खस्ने समस्याले निर्माण कार्य प्रभावित भएको छ । सामान बोकेका गाडी डोजरको सहायताले तार्ने र पहिरो पन्छाउँदै सवारीसाधन पार गराउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
करिब ६० प्रतिशत भौतिक प्रगति भएको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको निर्माणमा पनि असर परेको छ । ३७ मेगावाट क्षमताबाट वृद्धि गरी ४६ दशमलव २५ मेगावाट बनाउने प्रक्रियामा रहेको आयोजनाका प्रमुख रमेश सुवेदीले ठाउँठाउँमा सवारीसाधन परिवर्तन गरेर निर्माण सामग्री ढुवानी गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
बेनी–दरवाङ र दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत थापाचौर, गौथली र दाचौर भिरमा खसेको पहिरोका कारण निर्माण सामग्री ढुवानी गर्न नसकिएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले बताउनुभयो ।
पूर्वाधारको सुरक्षा र विपद् व्यवस्थापन चुनौती
बाढीपहिरोले म्याग्दीका सबै जलविद्युत् आयोजनामा भने क्षति पु¥याएको छैन । राहुघाट करिडोरमा राहुघाटबाहेक अन्य आयोजनाको उत्पादन नियमित छ । तुँदी पावर कम्पनीका ८४ मेगावाट क्षमताका अपर राहुघाट र मङ्गले–चिमखोला–राहुघाट आयोजना तथा २२ दशमलव पाँच मेगावाट क्षमताको अपर ठूलोखोला र २३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको उत्पादन नियमित रहेको छ ।
पछिल्लो विपद्ले जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह र सुरुङजस्ता मुख्य संरचना मात्र नभई पहुँचमार्ग, प्रसारण लाइन, निर्माण सामग्री भण्डारणस्थल र आवास संरचनासमेत जोखिममा रहेको देखाएको छ ।
नदीको धार परिवर्तन, गेग्रान थुप्रिने र पहिरो खस्ने समस्याले आयोजनाको नियमित सञ्चालनदेखि निर्माण कार्यसम्म प्रभावित हुन सक्ने अवस्था छ । जलविद्युत् आयोजना निर्माणमा ठूलो लगानी र लामो समय लाग्ने भएकाले प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणलाई निर्माण योजनाकै अभिन्न अङ्ग बनाउनुपर्ने देखिन्छ ।
बाढीपहिरोले उत्पादन अवरुद्ध पार्ने मात्र होइन, निर्माणाधीन आयोजनाको लागत र समय बढाएर समग्र ऊर्जा विकासको लक्ष्यमा समेत असर पुर्याउने तथा लगानीमा जोखिम बढाउन सक्छ । नदी कटान नियन्त्रण, सुरक्षित तटबन्ध, जोखिमयुक्त क्षेत्रमा वैकल्पिक पहुँचमार्ग, प्रसारण लाइनका टावरको संरक्षण र विपद् पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
म्याग्दीमा जलविद्युत् उत्पादनको सम्भावना र लगानी बढ्दै जाँदा त्यससँग सम्बन्धित पूर्वाधारलाई प्राकृतिक विपद्बाट सुरक्षित बनाउनु पनि उत्तिकै महत्वपूर्ण बनेको छ । (रासस)




प्रतिक्रिया राख्नुहोस्