प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमतिमध्ये नेपालले लामो समयदेखि माग गर्दैआएको समुद्रसम्मको पहुँच विस्तारमा भएको समझदारी मुख्य हो
दुईदिने भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीचको सहमतिमा नेपाललाई तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका कान्डला (दीनदयाल) र पारादीप बन्दरगाह प्रयोग गर्न दिने सहमति भएको छ। यसले नेपालको समुद्री व्यापारका लागि प्रयोग हुँदै आएका सीमित नाकामा निर्भरता कम गर्दै व्यापारिक मार्ग विविधीकरण गर्ने नयाँ अवसर खोलेको छ।
नेपालले यसअघि कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको थियो। नयाँ दुई बन्दरगाहको पहुँचले आयात–निर्यातमा विकल्प थपिए पनि त्यसको वास्तविक आर्थिक लाभ भने ढुवानी दूरी, रेल सेवा, ट्रान्जिट प्रक्रिया, भन्सार र मालवाहक जहाजको उपलब्धताका साथै नेपालको निर्यात विस्तारमा निर्भर हुनेछ।
यद्यपि यी दुई बन्दरगाह नेपालका लागि विशेष महत्वको भने पक्कै छ । गुजरातस्थित कच्छ क्षेत्रमा रहेको कान्डला बन्दरगाह, भारतको पश्चिमी तटीय व्यापारिक केन्द्रमध्ये महत्त्वपूर्ण हो।
यो बन्दरगाह खाडी क्षेत्रमा अवस्थित भएकाले समुद्री छालको प्रभाव तुलनात्मक रूपमा कम हुने सुरक्षित बन्दरगाह मानिन्छ। वर्षभर सञ्चालन गर्न सकिने यसको विशेषताले समुद्री व्यापारमा निरन्तरता दिन सहयोग गर्छ।
यस बन्दरगाहको अर्को विशेषता सडक र रेलमार्गमार्फत भारतका पश्चिमी, उत्तरी तथा मध्य क्षेत्रसँग जोडिएको हुनु हो। यहाँ सुख्खा तथा तरल दुवै प्रकारका वस्तु, खाद्यान्न, पेट्रोलियम पदार्थ, रासायनिक वस्तु, औद्योगिक कच्चा पदार्थ र कन्टेनरजन्य सामानको कारोबार हुन्छ। ठूलो भण्डारण क्षमता, रेलमार्गको पहुँच र विभिन्न प्रकारका कार्गो व्यवस्थापन सुविधा यसको बलियो पक्ष हुन्।
नेपालका लागि कान्डलाको पहुँच विशेष गरी पश्चिमी र मध्य नेपालका आयातकर्ताका लागि वैकल्पिक समुद्री मार्ग बन्न सक्छ। युरोप, मध्यपूर्व तथा अन्य अन्तर्राष्ट्रिय बजारबाट आयात हुने वस्तुका लागि नयाँ मार्ग उपलब्ध हुँदा एउटै बन्दरगाह वा व्यापारिक करिडोरमा निर्भरता घटाउन सकिन्छ।
यद्यपि कान्डलाबाट नेपालसम्मको रेल तथा सडक दूरी, ट्रान्जिट शुल्क र मालसामानको ओसारपसार व्यवस्थापनलाई तुलनात्मक रूपमा अध्ययन नगरी यसको प्रयोग स्वतः सस्तो हुन्छ भन्न सकिँदैन। यसका लागि थप अध्ययन आवश्यक छ ।

भएको सहमति अनुसार कार्यान्वयन प्रक्रिया अघि बढे र पश्चिमी नेपालका व्यापारिक केन्द्र तथा भविष्यमा विकसित हुने दोधारा–चाँदनी सुक्खा बन्दरगाहसँग यसलाई जोड्न सकिएमा यसको रणनीतिक महत्त्व अझ बढ्न सक्छ।
त्यस्तै भारतको ओडिशास्थित पारादीप बन्दरगाह पूर्वी तटको प्रमुख समुद्री व्यापारिक केन्द्र हो। यसको विशेषता ठूलो परिमाणमा कार्गो व्यवस्थापन गर्ने क्षमता, गहिरो पानीको पहुँच, आधुनिक सामान लोड–अनलोड प्रणाली र रेलमार्गसँगको बलियो सम्बन्ध हो।
पारादीप बन्दरगाहले कोइला, फलाम, पेट्रोलियम पदार्थ, मल, औद्योगिक कच्चा पदार्थ, स्टिल, कन्टेनर तथा अन्य व्यापारिक सामानको कारोबार गर्छ। बन्दरगाहमा आफ्नै रेल प्रणाली, लामो रेल साइडिङ, भण्डारण सुविधा तथा ठूलो जहाज व्यवस्थापन गर्न सक्ने संरचना छ। यसले पूर्वी भारतका साथै झारखण्ड, छत्तीसगढ, बिहार, पश्चिम बंगाल, उत्तर प्रदेश र मध्य भारतका औद्योगिक तथा व्यापारिक क्षेत्रलाई समुद्री व्यापारसँग जोड्छ।
नेपालका लागि पारादीपको महत्त्व यसको रेलमार्गमा आधारित माल ढुवानी क्षमता र पूर्वी भारतीय औद्योगिक क्षेत्रसँगको निकटतामा छ। नेपालले तेस्रो मुलुकबाट आयात गर्ने औद्योगिक कच्चा पदार्थ, मेसिनरी, मल, स्टिल, निर्माण सामग्री तथा अन्य वस्तुलाई पारादीप हुँदै ल्याउने व्यवस्था प्रभावकारी भएमा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहसम्म माल ढुवानीको वैकल्पिक मार्ग विकास गर्न सकिन्छ।
पारादीपले ठूलो परिमाणका वस्तु आयात गर्ने व्यवसायका लागि विकल्प दिन सक्छ। कोलकाता र हल्दियामा जहाज पर्खाइ, कन्टेनर व्यवस्थापन, बन्दरगाहमा हुने जाम वा अन्य ढिलाइले व्यापार प्रभावित हुने अवस्थामा पारादीप उपयोगी हुन सक्छ। तर यसका लागि नियमित रेल सेवा, नेपालको सुक्खा बन्दरगाहसम्म कार्गो आवागमनको स्पष्ट व्यवस्था र प्रतिस्पर्धी भाडा आवश्यक हुनेछ।
यी बन्दरगाहले ल्याउन सक्ने परिवर्तन
आजका मितिसम्म कोलकाता, हल्दिया र विशाखापट्टनबाट मात्र आयात निर्यात गरिरहेको नेपालले यहाँ हुने हुने जाम, जहाज पर्खाइ, कन्टेनर अभाव वा सञ्चालन अवरोध हुँदा लागत र समय खेर गैरहेको अवस्थामा यी बन्दरगाह प्रयोगमा ल्याए आपूर्ति प्रणालीलाई बढी लचिलो बनाउनेछ।
बन्दरगाहदेखि नेपालका सुक्खा बन्दरगाहसम्म रेलमार्गको प्रयोग विस्तार गर्न सके ठूलो परिमाणको सामान ढुवानीमा सडकको तुलनामा लागत, समय र इन्धन बचत हुनेछ ।
साथै समुद्री भाडा, बन्दरगाह शुल्क, ट्रान्जिट खर्च, रेल भाडा र भन्सार प्रक्रियाबीच प्रतिस्पर्धा बढेमा आयातकर्ताले सस्तो मार्ग छनोट गर्न सक्नेछन्। त्यसको प्रभाव उत्पादन लागत र उपभोक्ता मूल्यमा समेत पर्न सक्छ।
त्यस्तै कुनै बन्दरगाहमा अवरोध, प्राकृतिक विपद्, हडताल, जहाज सेवा अनियमितता वा अन्तर्राष्ट्रिय परिस्थितिका कारण ढुवानी प्रभावित हुँदा अर्को मार्ग प्रयोग गर्न सकिनेछ। यसले नेपालको भूपरिवेष्टित अर्थतन्त्रलाई बाह्य व्यापारमा थप सुरक्षा दिन सक्छ।
यी सम्भावनाहरु तब मात्र यथार्थमा परिणत हुनेछन् जब समझदारी कार्यान्वयनमा जानेछ । अहिलेसम्म भएका समझदारीहरु कार्यान्वयनमा खासै चासो दुबै मुलुकबाट नभएको र भ्रमणका उपलब्धि केही दिनको अखबारी खुराक मात्र बन्नेछ । साथै यस विषयममा विस्तृत अध्ययन नेपालले नै गर्नुपर्नेछ र आफ्नो क्षेत्रमा सोही अनुसारको पूर्वाधार विकास गर्नुपर्नेछ ।

पारादीपबाट सिर्सिया सुक्खा बन्दरगाहसम्म नियमित रेल सेवा र कान्डलाबाट नेपालका व्यापारिक केन्द्रसम्म सहज ढुवानी व्यवस्था सुनिश्चित गर्ने प्रणालीको विकासमा सरकारले उच्च चासो दिनुपर्नेछ । यसो गर्न सके मात्रै नयाँ पहुँचको लाभ प्रत्यक्ष रूपमा महसुस गर्न सकिनेछ।
साथै नेपालले नयाँ बन्दरगाह प्रयोग गर्न आवश्यक ट्रान्जिट सन्धि, रेल सेवा सम्झौता, प्रवेश तथा निकास बिन्दु, भन्सार जाँच, कन्टेनर व्यवस्थापन र मालवाहक रेल सञ्चालनसम्बन्धी प्रक्रियालाई पनि टुंग्याउनुपर्ने हुन्छ। यी व्यवस्था स्पष्ट र व्यावहारिक नहुँदासम्म बन्दरगाह पहुँच कागजी सुविधामै सीमित रहन सक्छ।
नेपाल भूपरिवेष्टित मुलुक भएकाले अन्तर्राष्ट्रिय व्यापारमा पारवहन सुविधा निर्वाध उपयोग गर्न पाउने अधिकार भए हो र यस्तो सुविधा पाएर मात्रै लाभ हुने भन्ने हुँदैन ।
यदि नेपालले रेल, सडक, सुक्खा बन्दरगाह, भन्सार र ट्रान्जिट प्रक्रियालाई एकीकृत ढंगले अघि बढाउन सक्यो भने यो समझदारीले आयात लागत घटाउने, निर्यात प्रतिस्पर्धा बढाउने र भूपरिवेष्टित अर्थतन्त्रको पारवहन जोखिम कम गर्ने दीर्घकालीन आधार बनाउन सक्छ।




प्रतिक्रिया राख्नुहोस्