युक्रेन युद्ध नफैलाउन ट्रम्प र नेटो प्रमुखद्वारा रुसलाई आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुटेले रुसलाई युक्रेनमा जारी युद्ध थप नफैलाउन आग्रह गर्नुभएको छ। फ्लोरिडामा बुधबार भेटवार्ता गरेपछि जारी संयुक्त वक्तव्यमा उहाँहरूले रुसलाई युद्ध विस्तार नगर्न आग्रह गर्नुभएको हो।
फ्लोरिडास्थित ट्रम्पको मार–ए–लागो रिसोर्टमा बन्द ढोकाभित्र भएको वार्तापछि ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा भेटवार्तालाई ‘उत्कृष्ट’ र ‘अत्यन्त प्रभावकारी’ भन्दै युक्रेन र इरानमा जारी युद्ध मुख्य छलफलको विषय रहेको उल्लेख गरिएको छ।
‘हामीले रुसले जानाजानी वा अनजानमा युद्ध विस्तार गर्ने कुनै पनि गतिविधि नगर्नुपर्ने विषयमा पनि छलफल गर्यौँ। साथै, युद्धको जतिसक्दो चाँडो शान्तिपूर्ण समाधान खोज्नुको महत्त्वबारे पनि विचार आदानप्रदान गर्यौँ,’ संयुक्त वक्तव्यमा भनिएको छ।
ट्रम्प र रुटेको संयुक्त आग्रह यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति ट्रम्पले गत साता चीनमा भएको भेटका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘मेरो मित्र’ भनेर सम्बोधन गर्नुभएको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनप्रति ट्रम्पको अभिव्यक्तिमा आपत्ति जनाउनुभएको छ। ‘हाम्रा लागि उनी हत्यारा हुन्,’ जेलेन्स्कीले सीएनएनसँग भन्नुभएको थियो।
बुधबार फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’सँगको अन्तर्वार्तामा नेटो प्रमुख रुटेलाई ट्रम्पको उक्त अभिव्यक्तिबारे प्रश्न गरिएको थियो।
‘चीनको सेन्जेनमा भएको भेटमा पनि राष्ट्रपति ट्रम्पले जे गरिरहनुभएको छ, त्यो पुटिनको परीक्षण हो,’ नेटो महासचिवले भन्नुभयो। ‘उनी कति गम्भीर छन्? के उनी वार्ताको टेबलमा आउन तयार छन्? के उनी वास्तवमै वार्तामा सहभागी हुन चाहन्छन्?’
‘त्यसैले दबाब कायम राखौँ। मलाई लाग्छ, यो प्रभावकारी भइरहेको छ र हामीले यसलाई निरन्तरता दिनुपर्छ,’ उहाँले भन्नुभयो। किभको तुलनामा मस्कोको पक्ष लिएको भन्दै आलोचना खेप्दै आएका ट्रम्पले पुटिनसँगको भेटपछि रुसी राष्ट्रपति युद्धलाई ‘कूटनीतिक माध्यम’बाट अन्त्य गर्न चाहेको बताउनुभएको थियो।
फ्लोरिडामा भएको भेट युरोपेली राष्ट्रहरूले प्रारम्भिक वार्तामा सहभागी हुने इच्छा व्यक्त गरिरहेका बेला भएको हो। हालसम्म उक्त वार्तामा युक्रेन, अमेरिका र रुस मात्रै सहभागी हुँदै आएका छन्।
रुटेले कुनै पनि सम्झौतामा युक्रेनका लागि सुरक्षा प्रत्याभूति समावेश हुनुपर्ने बताउनुभएको छ। ‘युद्ध अन्त्य हुँदा, चाहे शान्ति सम्झौतामार्फत होस्—जुन हाम्रो प्राथमिकता हो—वा त्यो सम्भव नभए दीर्घकालीन युद्धविराममार्फत होस्, त्यसपछि पनि युक्रेनको सुरक्षा सुनिश्चित हुने प्रत्याभूति गर्नुपर्छ,’ उहाँले भन्नुभयो।
‘तर यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा,’ रुटेले थप्नुभयो, ‘युक्रेनले युद्ध जारी राख्न आवश्यक पर्ने सबै सामग्री र सहयोग प्राप्त गरोस् भन्ने सुनिश्चित गर्नुपर्छ। युक्रेनले प्रभावकारी रूपमा युद्ध लडिरहेको छ र रुसमाथि अधिकतम दबाब सिर्जना गरिरहेको छ। त्यसलाई निरन्तरता दिन आवश्यक छ।’
संयुक्त वक्तव्यअनुसार ट्रम्प र रुटेबीच रक्षा खर्च बढाउने विषयमा पनि छलफल भएको थियो। अमेरिकी राष्ट्रपतिले युरोपेली शक्तिराष्ट्रहरूलाई रक्षा खर्च बढाउन दबाब दिँदै आउनुभएको छ।
फ्लोरिडामा भएको वार्ता यस्तो समयमा भएको हो, जब अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) प्रमुख पिट हेगसेथले आगामी केही साताभित्र युरोपमा अमेरिकी सैन्य उपस्थितिको पुनरावलोकनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। (एएफपी)




प्रतिक्रिया राख्नुहोस्