बिचारबिशेष

प्राकृतिक स्रोतमा धनी देश किन प्रायः गरिब नै रहन्छन्?

प्रजातान्त्रिक गणतन्त्र कंगोले विश्वको करिब ७० प्रतिशत कोबाल्ट उत्पादन गर्छ। गिनीसँग विश्वकै सबैभन्दा ठूलो बक्साइट भण्डारमध्ये केही छन्। जाम्बियाले एक शताब्दीभन्दा लामो समयदेखि तामा निर्यात गर्दै आएको छ।

इथियोपियाको कफीले देशको कुल निर्यात आम्दानीको ३० देखि ३५ प्रतिशत हिस्सा ओगट्छ भने त्यहाँको करिब एक चौथाइ जनसंख्याको जीविकोपार्जन कफी उत्पादन तथा कारोबारसँग सम्बन्धित मूल्य शृंखलामा निर्भर छ। यति हुँदाहुँदै पनि विकासका अधिकांश सूचकका आधारमा यी देश विश्वका तुलनात्मक रूपमा गरिब अर्थतन्त्रमा पर्छन्।

यस अवस्थाले एउटा गम्भीर प्रश्न उठाउँछ। आधुनिक उद्योग, प्रविधि र दैनिक जीवनका लागि आवश्यक कच्चा पदार्थ यी देशसँग पर्याप्त हुँदा पनि त्यसबाट सिर्जना हुने सम्पत्तिको सानो हिस्सा मात्रै उनीहरूले किन प्राप्त गर्छन्? यसको जवाफ मुख्यतः भ्रष्टाचार, कमजोर शासन वा दुर्भाग्य मात्रै होइन, यद्यपि कतिपय अवस्थामा यी कारणले पनि भूमिका खेल्छन्।

यसको मूल कारण संरचनागत छ। प्राकृतिक स्रोतबाट सिर्जना हुने सम्पत्ति खानीदेखि उपभोक्तासम्म पुग्ने मूल्य शृंखलामा समान रूपमा बाँडिँदैन। ऐतिहासिक रूपमा स्रोत उत्खनन गर्ने देशहरू यही शृंखलाको सबैभन्दा कम लाभदायक तहमा सीमित हुँदै आएका छन्।

वास्तविक मूल्य कहाँ सिर्जना हुन्छ ?

कुनै प्राकृतिक स्रोत उपभोक्तासम्म पुग्नुअघि त्यसको उत्खनन वा संकलन केवल सुरुआती चरण हो। सामान्यतया एउटा वस्तु उपभोक्तासम्म पुग्नुअघि प्रशोधन, शुद्धीकरण, विभिन्न सामग्री वा अवयव निर्माण, जडान, ब्रान्ड निर्माण, वितरण, खुद्रा बिक्री र वित्तीय कारोबारजस्ता चरण पार गर्छ। प्रत्येक चरणले वस्तुको मूल्य थप्छ। पछिल्ला चरणमा हुने प्रशोधन, उत्पादन, बौद्धिक सम्पत्ति र ब्रान्ड निर्माणमा प्रभुत्व जमाउने देशले अधिकांश नाफा प्राप्त गर्छन्। कच्चा पदार्थ आपूर्ति गर्ने देशले भने त्यसको सानो अंश मात्रै पाउँछन्।

कफीले यो अवस्थालाई सबैभन्दा सरल रूपमा देखाउँछ। इथियोपिया कफीको उत्पत्तिस्थल हो, अफ्रिकाको सबैभन्दा ठूलो कफी उत्पादक र उच्च गुणस्तरको अरेबिका कफी निर्यात गर्ने विश्वका महत्त्वपूर्ण देशमध्ये एक हो।

ओरोमिया क्षेत्रका साना किसानले आफ्नो खेतबाट कफी बिक्री गर्दा प्रतिकिलोग्राम प्राप्त गर्ने मूल्य, त्यही कफी युरोप वा अमेरिकाको क्याफेमा भुटेर, ब्रान्ड बनाएर, प्याकेजिङ र वितरण गरेर बिक्री गरिँदा उपभोक्ताले तिर्ने मूल्यको तुलनामा निकै सानो हुन्छ। ती कफी प्रशोधन तथा बिक्री गर्ने कम्पनीको मुख्यालय, बौद्धिक सम्पत्ति र सेयरधनी किसानको खेतबाट हजारौँ किलोमिटर टाढा हुन्छन्।

इथियोपिया सरकारको आफ्नै राष्ट्रिय कफी रणनीतिले पनि यो अन्तरलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ। देशले विश्व बजारमा माग भएको उत्पादन गरे पनि भुट्ने, ब्रान्ड बनाउने र उपभोक्ता बजारसम्म पहुँच पुर्‍याउने काम उपभोग गर्ने देशतर्फको मूल्य शृंखलामा नियन्त्रण भएकाले कफीबाट सिर्जना हुने मूल्यको ठूलो हिस्सा प्राप्त गर्न संघर्ष गरिरहेको छ।

तामादेखि स्मार्टफोनसम्म

खनिज पदार्थको कारोबारमा पनि यही प्रक्रिया लागू हुन्छ, तर यसको जटिलता अझ बढी हुन्छ। किनकि अधिकांश खनिज अन्तिम उत्पादनमा प्रयोग हुनुअघि विभिन्न चरणमा रूपान्तरण गरिन्छ। प्रजातान्त्रिक गणतन्त्र कंगोले विश्वको करिब ७० प्रतिशत कोबाल्ट उत्पादन गर्छ।

तर कोबाल्टको आर्थिक मूल्य त्यसलाई ब्याट्रीमा प्रयोग गर्न मिल्ने गुणस्तरको पदार्थमा प्रशोधन गरेपछि, ब्याट्रीको क्याथोडमा प्रयोग गरेपछि, ब्याट्री सेल निर्माण गरेपछि, ब्याट्री प्याकमा जडान गरेपछि र अन्ततः टेस्ला वा एप्पलजस्ता कम्पनीले बिक्री गर्ने विद्युतीय सवारीसाधन वा स्मार्टफोनमा जडान गरेपछि मात्रै उच्च रूपमा अभिवृद्धि हुन्छ।

सन् २०२४ सम्म विश्वको लिथियम, कोबाल्ट, फस्फेट र ग्रेफाइटको ७० देखि ९५ प्रतिशत प्रशोधन गर्ने, एलएफपी (लिथियम आइरन फस्फेट) क्याथोड सामग्रीको ९८ प्रतिशत उत्पादन गर्ने तथा विश्वको ८० प्रतिशतभन्दा बढी ब्याट्री सेल निर्माण गर्ने काममा चीनको मध्यवर्ती र अन्तिम उत्पादन तहमा प्रभुत्व रहेको थियो।

कंगोको खानीले खनिज बेचेर आम्दानी गर्छ। ब्याट्री निर्माता, प्रविधि कम्पनी र ब्रान्डले भने तयार उत्पादन बिक्री गर्दा हुने नाफा प्राप्त गर्छन्। मूल्य शृंखलामा यी दुई स्थानबीचको अन्तरमै अधिकांश सम्पत्ति र लाभ हराउँछ अथवा स्रोत उत्पादक देशबाट बाहिर जान्छ।

विकासको भर्‍याङ चढेपछि अरूलाई रोक्ने प्रवृत्ति

आजका धनी देशहरू वास्तवमा कसरी विकसित भए भन्ने विश्लेषण गर्दै हा जुन चाङले बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया र जर्मनीजस्ता देशले कच्चा पदार्थ निर्यात गर्ने अर्थतन्त्रबाट उत्पादनकर्ता हुँदै अन्ततः प्रविधि र सेवा क्षेत्रका अर्थतन्त्रमा रूपान्तरण हुन औद्योगिक नीति, व्यापार संरक्षण र सरकारी लगानीको प्रयोग गरेको तर्क गर्छन्।

उनीहरू कच्चा पदार्थ निर्यातमै सीमित रहेर धनी भएका होइनन्। विश्व बजारमा खुला प्रतिस्पर्धा गर्नुअघि प्रशोधन, उत्पादन र अन्ततः नवप्रवर्तनको क्षमता निर्माण गरे। विकसित भइसकेपछि भने उनीहरूमध्ये धेरैले आफू विकासका क्रममा अपनाएका संरक्षणकारी नीतिबिनै अन्य देशले स्वतन्त्र व्यापार अपनाउनुपर्ने तर्क गर्न थाले।

पछिल्ला दशकमा प्राकृतिक स्रोतमा निर्भर अर्थतन्त्रबाट आंशिक रूपमा बाहिर निस्कन सफल देशहरूले सामान्यतया कच्चा पदार्थ आपूर्तिकर्ता भएर बस्न अस्वीकार गरेका छन्। बोत्सवानाले हिरा कम्पनी डी बियर्ससँग यस्तो साझेदारी गर्‍यो, जसअन्तर्गत हिरा काट्ने र चम्काउने काम देशभित्रै गर्नुपर्ने व्यवस्था भयो। यसले काँचो हिरा विदेशमा प्रशोधन गर्न पठाउनुको सट्टा मूल्य शृंखलाको थप हिस्सा देशभित्रै राख्न मद्दत गर्‍यो।

इन्डोनेसियाले सन् २०२० मा कच्चा निकेल अयस्क निर्यातमा प्रतिबन्ध लगायो, जसले अन्तर्राष्ट्रिय खरिदकर्तालाई देशभित्रै प्रशोधन उद्योगमा लगानी गर्न बाध्य बनायो। यसका नतिजा उल्लेखनीय रहे।

पूर्वराष्ट्रपति जोको विडोडोले उक्त नीतिका कारण इन्डोनेसियाको निकेल निर्यात मूल्य १७ खर्बबाट ५१० खर्ब रुपियाँसम्म वृद्धि भएको दाबी गर्नुभएको थियो। सन् २०२४ सम्म इन्डोनेसिया विश्वको कुल निकेल उत्पादनको ५८ प्रतिशत हिस्सा ओगट्ने देश बन्यो र त्यहाँ ४३ वटा प्रशोधन उद्योग सञ्चालनमा थिए।

तर इन्डोनेसियाको उदाहरणले यस रणनीतिका सीमितता पनि देखाउँछ। सन् २०२४ सम्म इन्डोनेसियाको निकेल निर्यातको ८२ प्रतिशत चीनमा जाने गरेको थियो। देशभित्र प्रशोधन उद्योग स्थापना गर्न आवश्यक ठूलो लगानीको हिस्सा चीनले उपलब्ध गराएको थियो।

इन्डोनेसिया कच्चा अयस्क निर्यात गर्ने अवस्थाबाट प्रशोधित, तर तुलनात्मक रूपमा कम गुणस्तरको निकेल निर्यात गर्ने अवस्थामा पुगेको थियो। यो वास्तविक प्रगति भए पनि ब्याट्री उत्पादन, प्रविधि र ब्रान्ड निर्माणजस्ता वास्तविक उच्च नाफा हुने चरणमा नियन्त्रण स्थापित गर्न अझै सकेको थिएन।

वातावरणीय र श्रमसम्बन्धी चिन्ताका कारण युरोपेली लगानीकर्ताहरू उच्च मूल्य अभिवृद्धि हुने प्रशोधन उद्योगमा लगानीबाट पछि हटे। त्यसैले मूल्य शृंखलाको माथिल्लो तहमा पुग्ने यात्रा अधुरै रह्यो। मूल्य शृंखलाको एउटा तह माथि उक्लनु र पूरै शृंखलामाथि नियन्त्रण स्थापित गर्नु एउटै कुरा होइन।

प्रशोधन उद्योगको स्वामित्व कसको छ ?

प्राकृतिक स्रोत निर्यात गर्ने कुनै पनि देशका लागि महत्त्वपूर्ण प्रश्न खानीको स्वामित्व कसको छ भन्ने मात्र होइन, खानीबाट निस्किएको स्रोतपछि के हुन्छ भन्ने कुराको स्वामित्व कसले लिन्छ भन्ने हो। प्रशोधन केन्द्र, कारखाना, पेटेन्ट, ब्रान्ड, ढुवानी सञ्जाल, लगानी प्रवाह र नाफा विदेश लैजाने वित्तीय प्रणालीको स्वामित्व कसको छ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ।

वस्तुको कच्चा पदार्थको मूल्य र उपभोक्ताले अन्तिम उत्पादनका लागि तिर्ने मूल्यबीचको अन्तर कसरी बाँडिन्छ भन्ने कुरा यिनै चरणमा निर्धारण हुन्छ। दशकौँदेखि यी चरणहरू मुख्यतः धनी देशहरूमा मुख्यालय रहेका कम्पनी र वित्तीय संस्थाहरूले व्यवस्थित गर्दै आएका छन्।

संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलन (अंकटाड) ले विश्वव्यापी मूल्य शृंखलाबारे गरेका अध्ययनहरूले निरन्तर देखाउँदै आएका छन् कि यी शृंखलामा सहभागी विकासशील देशहरू प्रायः कम मूल्य अभिवृद्धि हुने चरणमा सीमित हुन्छन्।

उच्च मूल्य अभिवृद्धि हुने गतिविधिमा प्रवेश गर्न केवल लगानी मात्र पर्याप्त हुँदैन। त्यसका लागि प्रविधि, बौद्धिक सम्पत्ति, दक्ष जनशक्ति र बजारसँगको सम्बन्धमा पहुँच आवश्यक हुन्छ। यी सबै स्रोत तथा क्षमता पहिले नै स्थापित प्रभुत्वशाली कम्पनी र समूहहरूको नियन्त्रणमा केन्द्रित छन्, जसलाई आफ्नो बजार स्थिति जोगाइराख्न हरेक प्रोत्साहन उपलब्ध हुन्छ।

प्राकृतिक स्रोत महत्त्वपूर्ण छन्। तर इतिहासले स्पष्ट देखाएको छ—केवल प्राकृतिक स्रोतको स्वामित्व हुँदैमा कुनै देश समृद्ध हुँदैन। समृद्धि त्यसबेला हासिल हुन्छ, जब देशले जमिनबाट निकालिएको स्रोत उपभोक्तासम्म पुग्ने प्रक्रियामा हुने गतिविधि, त्यसको मूल्य अभिवृद्धि र ती गतिविधि कसले, कुन सर्तमा गर्न पाउने भन्ने नियममाथि नियन्त्रण स्थापित गर्न सक्छ। विश्व अर्थतन्त्र कसरी संगठित छ भन्ने विषयको सबैभन्दा निर्णायक, तर कम चर्चा हुने आयाममध्ये यो पनि एक हो।

लेख साभार : काउण्टरकरेन्ट्स, तस्वीर एआई सिर्जित

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.