जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
वैदेशिक रोजगारीका लागि जापान पुगेका बागलुङको निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाउनुभएको छ ।
विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुग्नुभएका उहाँ आफ्नै गाउँको माटो र कृषि कर्मप्रतिको आकर्षणका कारण लामो समय विदेशमा बस्न सक्नुभएन ।
जापानको रोजगारी छाडेर फर्किनुभएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती तथा पशुपालन व्यवसाय विस्तारमा जुट्नुभएको छ । उहाँले निसीखोला–४ स्थित विस्मारेमा ‘अमृत फलफूल तथा तरकारी पशुपन्छीपालन कृषि फार्म प्रालि’ सञ्चालन गरिरहनुभएको छ ।
घर्तीले २०७१ सालदेखि व्यावसायिक कृषि सुरु गर्नुभएको हो । भारतको हिमाचल प्रदेशमा बसोबास गर्दा स्याउ र किवीखेतीबारे जानकारी तथा अनुभव हासिल गर्नुभएका घर्तीले स्वदेश फर्किएपछि करिब १० रोपनी जग्गामा किवीखेती सुरु गर्नुभएको थियो ।
कृषि व्यवसायमा केही वर्ष बिताएपछि उहाँ वैदेशिक रोजगारीका लागि जापान जानुभएको थियो । तर, विदेशको बसाइभन्दा आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायप्रतिको मोह बलियो भएपछि एक वर्षमै फर्किनुभयो ।
किवीखेतीलाई निरन्तरता दिँदै कृषि व्यवसाय विविधिकरणमा लाग्नुभएका घर्तीले किवी बिक्रीबाट वार्षिक करिब रु तीन लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले टिमुरखेतीसमेत विस्तार गर्नुभएको छ ।
हाल एउटा गाई पालेर दूध बिक्री गर्दै आउनुभएका उहाँले व्यावसायिक बङ्गुरपालन सुरु गर्ने तयारी गर्नुभएको छ । त्यसका लागि आवश्यक भौतिक संरचनासमेत निर्माण गरिसक्नुभएको छ ।
कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउँदा उत्पादन लागत घटाउनुका साथै आम्दानी बढाउन सकिने उहाँको विश्वास छ । पशुपालनबाट प्राप्त हुने मल कृषि उत्पादनमा प्रयोग गर्न सकिने भएकाले दुवै व्यवसायलाई सँगसँगै अघि बढाउने योजना बनाएको उहाँ बताउनुहुन्छ ।
“कृषिमा मल आवश्यक पर्छ, पशुपालनबाट मल प्राप्त हुन्छ । त्यसैले कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउने सोच बनाएको छु”, घर्तीले भन्नुभयो, “भारतमा सिकेको कृषि अनुभव र जापान गएर फर्किएपछिको भोगाइलाई अहिले आफ्नै माटोमा प्रयोग गरिरहेको छु ।”
कृषि उद्यमसँगै घर्ती सामाजिक सेवामा पनि सक्रिय हुनुहुन्छ । उहाँ निसीखोला गाउँपालिका–४ का वडा सदस्यसमेत हुनुहुन्छ । जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै कृषि उत्पादनमा समेत संलग्न घर्ती जनप्रतिनिधि आफैँ उत्पादन र उद्यमशीलतामा लाग्नुपर्ने धारणा राख्नुहुन्छ ।
वैदेशिक रोजगारीका लागि विदेश जाने र उतै भविष्य खोज्ने युवाको सङ्ख्या बढिरहेका बेला घर्तीले भने आफ्नै गाउँमा कृषि उद्यमको सम्भावना खोजिरहनुभएको छ ।(रासस)




प्रतिक्रिया राख्नुहोस्