स्वच्छ ऊर्जा (जलविद्युत)मा अपार सम्भावना बोकेको नेपालमा विद्युत उत्पादन अझै पनि कमजोर छ । तर, केही वर्षयता जति विद्युत उत्पादन हुँदैआएको छ ।
यसको आन्तरिक खसतसंगै निर्यात पनि भैरहेको छ र नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामै भारत र बंगलादेशमा विद्युत् निर्यात गरेर २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ।
साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको दुई अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् निर्यात भएको हो।
यो उपलब्धिले नेपाल जलविद्युत् उत्पादन र व्यापारमा नयाँ चरणमा प्रवेश गरेको संकेत गरे पनि उपलब्ध प्राकृतिक स्रोत र उत्पादन क्षमताको तुलनामा मुलुकले अझै निकै कम लाभ लिन सकेको छ।
जलविद्युत्लाई राष्ट्रिय समृद्धिको आधार बनाउने हो भने निर्यातको आम्दानीमा मात्र रमाउने होइन, उत्पादन क्षमता विस्तार, लगानीको विविधीकरण र आन्तरिक खपत बढाउने दूरगामी नीति आवश्यक छ।
नेपालको जडित विद्युत् उत्पादन क्षमता अहिले करिब चार हजार दुई सय मेगावाट पुगेको छ। तर नदीको बहावमा आधारित आयोजनाको बाहुल्यका कारण वर्षायाममा उत्पादन पर्याप्त हुने र हिउँदमा घट्ने समस्या कायम छ।
नेपालको सैद्धान्तिक जलविद्युत् सम्भावना करिब ८३ हजार मेगावाट र आर्थिक रूपमा उपयोग गर्न सकिने सम्भावना करिब ४२ हजार मेगावाट रहेको अध्ययनले देखाएका छन्।
यस हिसाबले अहिलेको उत्पादन क्षमता मुलुकको सम्भावनाको सानो हिस्सा मात्रै हो। जलविद्युत् उत्पादन विस्तारमा ढिलाइ हुनु भनेको प्राकृतिक स्रोतलाई आर्थिक समृद्धिमा बदल्ने अवसर गुमाउनु हो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको चार महिनामा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको छ।
यस अवधिमा प्रतियुनिट औसत बिक्री दर आठ रुपैयाँ ५८ पैसा रहेको छ। कात्तिकमा मात्रै चार अर्ब छ करोड २५ लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो।
असोजमा सबैभन्दा बढी छ अर्ब पाँच करोड ८१ लाख रुपैयाँको विद्युत् बिक्री भएको थियो। प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्जको डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्दै आएको छ।
द्विपक्षीय सम्झौताअनुसार भारतका हरियाणा र बिहारमा तथा नेपाल, भारत र बंगलादेशबीचको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा समेत विद्युत् निर्यात भइरहेको छ।
गत आर्थिक वर्षमा प्राधिकरणले २९ अर्ब ३१ करोड रुपैयाँको विद्युत् निर्यात गर्दा १० अर्ब ५६ करोड रुपैयाँको आयात गरेको थियो। निर्यातबाट आयातभन्दा १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो। दुई वर्षदेखि नेपाल विद्युत्को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको छ।
यो सकारात्मक परिवर्तन भए पनि वर्षायाममा अतिरिक्त भएको बिजुली निर्यात गर्ने र हिउँदमा भारतबाट आयात गर्नुपर्ने अवस्थाले उत्पादन प्रणालीमा मौसमी असन्तुलन रहेको देखाउँछ। त्यसैले निर्यात विस्तारसँगै वर्षभरि भरपर्दो उत्पादन सुनिश्चित गर्ने जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनाको विकास अपरिहार्य छ।
नेपालको जलविद्युत् विकासमा लगानीको स्रोत र त्यसको सर्त पनि उत्तिकै महत्वपूर्ण विषय हो। भारत नेपालको स्वाभाविक र ठूलो विद्युत् बजार हो। तर बजार पहुँच र लगानीका नाममा नदी, जलस्रोत तथा दीर्घकालीन राष्ट्रिय हितमाथि प्रतिकूल असर पर्ने सम्झौता गर्नु हुँदैन।
कुनै एक देश वा लगानीकर्तामाथि अत्यधिक निर्भर हुने अवस्था अन्त्य गर्दै चीन, अमेरिका, युरोपेली मुलुक, खाडी क्षेत्र तथा अन्य अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत आकर्षित गर्नुपर्छ। आयोजना छनोट, लगानी सम्झौता, विद्युत् खरिद र पानीको उपयोगसम्बन्धी सर्त पारदर्शी हुनुपर्छ।
जलविद्युत् विकासका नाममा नदीमाथिको राष्ट्रिय अधिकार र भावी पुस्ताको हित कमजोर पार्ने गरी आयोजना सुम्पिने प्रवृत्ति रोक्नुपर्छ।
बूढीगण्डकी र माथिल्लो कर्णालीजस्ता ठूला आयोजना लामो समयदेखि निर्माणको प्रतीक्षामा छन्। यस्ता आयोजना सम्पन्न गर्न सरकारको बजेट र सीमित विदेशी लगानीकर्ताको भर मात्र पर्नु आवश्यक छैन। स्वदेशी तथा विदेशी लगानीकर्तालाई प्रतिस्पर्धात्मक रूपमा सहभागी गराउँदै आम नागरिकलाई समेत सेयरमार्फत लगानीको अवसर दिन सकिन्छ।
नागरिकको सानो–सानो बचतलाई ठूला पूर्वाधार आयोजनामा परिचालन गर्ने व्यवस्था बनाउन सके आयोजना निर्माणका लागि पूँजी जुट्नुका साथै जनताको स्वामित्व र प्रतिफलमा सहभागिता पनि सुनिश्चित हुन्छ। तर त्यसका लागि लगानीको पारदर्शिता, जोखिम व्यवस्थापन, उचित प्रतिफल र समयमै आयोजना सम्पन्न गर्ने संस्थागत प्रत्याभूति हुनुपर्छ।
अन्तर्राष्ट्रिय बजारमा विद्युत् निर्यात गर्नु आवश्यक छ, तर नेपालको जलविद्युत् नीतिको केन्द्र निर्यात मात्र हुनु हुँदैन। स्वदेशमै विद्युत् खपत बढाएर उत्पादन, रोजगारी र आय सिर्जना गर्ने वातावरण बनाउनुपर्छ।
उद्योगलाई प्रतिस्पर्धी दरमा पर्याप्त विद्युत् उपलब्ध गराउन सके सिमेन्ट, फलाम, रासायनिक मल, कृषि प्रशोधन, चिस्यान केन्द्र, पर्यटन र सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी विस्तार हुन सक्छ। उद्योगले भरपर्दो विद्युत् पाएमा डिजेल तथा अन्य आयातित इन्धनमा निर्भरता घट्छ र स्वदेशी उत्पादनको लागत प्रतिस्पर्धी बन्न सक्छ।
कृषि क्षेत्रमा सिँचाइका लागि विद्युतीय पम्प, कृषि उपकरण, खाद्य प्रशोधन र भण्डारणमा विद्युत्को प्रयोग बढाउनुपर्छ। घरेलु उपभोगमा खाना पकाउने ग्यासको विकल्पका रूपमा विद्युतीय चुलो विस्तार गर्न सकिन्छ।
सार्वजनिक तथा निजी यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन र पेट्रोलियम पदार्थको खपत घटाउन पनि विद्युत् महसुल तथा पूर्वाधारलाई उपभोक्तामैत्री बनाउन आवश्यक छ।
यसो गर्न सके एकातिर जलविद्युत्को आन्तरिक बजार विस्तार हुन्छ भने अर्कोतिर एलपी ग्यास, पेट्रोल र डिजेल आयातमा खर्च हुने ठूलो विदेशी मुद्रा बचत हुन्छ। अर्थात् विद्युत् खपत बढाउँदा उत्पादन र रोजगारी सिर्जना हुने तथा इन्धन आयात घट्दा व्यापार घाटा कम हुने दोहोरो लाभ प्राप्त गर्न सकिन्छ।
यसका लागि प्रसारण तथा वितरण प्रणालीको क्षमता विस्तार, गुणस्तरीय आपूर्ति, उपयुक्त महसुल संरचना र उद्योगमैत्री ऊर्जा नीति आवश्यक छ।
वर्षायाममा खेर जाने वा कम मूल्यमा बेच्नुपर्ने बिजुलीलाई स्वदेशी उद्योग र उपभोक्ताले उपयोग गर्न सक्ने व्यवस्था मिलाउनुपर्छ। त्यस्तै, सुक्खायाममा उत्पादन घट्ने समस्या समाधान गर्न जलाशययुक्त आयोजनाको निर्माण र ऊर्जा स्रोतको विविधीकरणमा जोड दिनुपर्छ।
नेपालको जलविद्युत् केवल निर्यातबाट विदेशी मुद्रा कमाउने वस्तु होइन, औद्योगिकीकरण, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार हो। विश्व स्वच्छ ऊर्जातर्फ अघि बढिरहेको अवस्थामा नेपालले आफ्नो जलस्रोतलाई रणनीतिक आर्थिक सम्पत्तिका रूपमा उपयोग गर्न सक्नुपर्छ।
त्यसका लागि राजनीतिक नेतृत्वले ऊर्जा बजार सुनिश्चित गर्ने, लगानीका लागि खुला र प्रतिस्पर्धी वातावरण बनाउने तथा राष्ट्रिय हितमा सम्झौता नगर्ने प्रतिबद्धता देखाउनुपर्छ।
उत्पादन बढाउने तर बजार नबनाउने, निर्यात गर्ने तर स्वदेशी उद्योगलाई महँगो ऊर्जा दिने र विदेशी लगानी खोज्ने तर नागरिकलाई स्वामित्वबाट टाढा राख्ने नीतिले जलविद्युत्को वास्तविक सम्भावना उपयोग हुन सक्दैन। निर्यात र आन्तरिक खपतलाई सन्तुलित गर्दै जलविद्युत्लाई अर्थतन्त्रको केन्द्रमा राख्न सके नेपालको आर्थिक संरचना नै बदलिन सक्छ।




प्रतिक्रिया राख्नुहोस्