लागुऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ
नेपाल प्रहरीले लागुऔषध कोकिनको अवैध कारोबार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ महानगरपालिका–१७ ठमेलस्थित जेपी मार्गबाट कोकिन कारोबारमा संलग्न एक कोरियन र एक भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउपर्नेमा कोरियन नागरिक ८७ वर्षीय सुक चोन ली र भारतीय नागरिक भारतीय नागरिक २८ वर्षीय दीपक उत्तम बाघमारे छन् । ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीले कोरियन नागरिक ली ले तीन किलोग्राम कोकिन पेरुबाट काठमाडौँ ल्याई भारतीय नागरिकलाई बिक्री गर्न लागेका अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो ।
कोरियन नागरिकले हातमा बोक्ने झोलाभित्र फल्स बटम बनाई कोकिन ल्याएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेकी सुक पेरुबाट स्पेन, कतार हुँदै तीन दिन अगाडि काठमाडौँ आइपुगेको प्रवक्ता रेग्मीले बताउनुभयो ।
यसअघि जुलाईमा पनि उनी नेपाल आएर कोरिया फर्केको अनुसन्धानमा खुलेको छ । पक्राउ भारतीय नागरिकसँग मुम्बई प्रहरीको आइडी कार्ड फेला परेको प्रवक्ता रेग्मीले बताउनुभयो । पक्राउ कोरियन नागरिकसँग प्रहरीले तीन किलोग्राम कोकिन, एक थान पासपोर्ट र दुई थान मोबाइल प्रहरीले बरामद गरेको छ ।
बरामद कोकिनको अवैध बजार मूल्य प्रतिग्राम रु ५० हजारका दरले तीन किलोग्रामको रु १५ करोड हाराहारीमा रहेको ब्युरोले जनाएको छ । (रासस)




प्रतिक्रिया राख्नुहोस्