जल/वातावरण

अप्रिल अन्त्यसम्म नेपालमा कोरोनाबिरुद्धको खोप आउने !

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आगामी अप्रिल महिनाको अन्त्यसम्ममा नेपालमा कोरोना बिरुद्धको खोप आइपुग्ने विश्वास लिएको छ । हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउनसक्ने सम्भावना रहेको छ । यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ ।

बेलायत लगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकीमूलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ । भारतसहित बेलायत, युरोपेलि मुलुक, अमेरिकालगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ ।

त्यसै गरी एनआरएनएले दिएको जानकारीमा कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो ।

योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कूल सङ्ख्या (२० देशका ) ३१५ पुगेको छ । शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।

समितिका अनुसार यस साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड– १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ८७० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६१ हजार ४३८ छ भने दुई लाख ५३ हजार ८५७ जना अर्थात ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.