राजनीति

राष्ट्रिय राजनीतिमा नेकपाको जिम्मेवारी बढ्दै छ : नेपाल

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताउनुभएको छ । प्रेस सङ्गठन कञ्चनपुरले आइतबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने दाबी गर्नुभयो ।

“प्रतिनिधिसभा हुँदै अब राष्ट्रियसभामा पनि नेकपाको शक्ति वृद्धि हुँदैछ”, उहाँले भन्नुभयो, “जनभावनाअनुसार सरकार पनि गम्भीर भएर अघि बढ्नुपर्छ ।” जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको भन्दै उहाँले प्रतिनिधिसभाको सभामुख चयनका विषयमा पनि पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउने जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मुलुकका सबै प्रदेशहरुले आ–आफ्नो विशेषतालाई पर्यटकसामु पु¥याउन पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो । “पर्यटन आर्थिक विकासको इन्जिन हो”, उहाँले भन्नुभयो, “यसलाई गतिशील बनाउन आवश्यक छ ।”

भारतसित देखिएको सीमा विवादको विषय तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनुपर्ने भन्दै उहाँले त्यसका लागि अहिले उपयुक्त समय भएको बताउनुभयो । “आर्थिक विकासका लागि सबैसित सद्भाव चाहन्छौँ”, उहाँले भन्नुभयो, “छिमेकीले एकअर्काको विश्वास जित्नु ठूलो कुरा हो ।”

यसैबीच नेपालले आज महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले पुल निरीक्षण गर्दै पुल निर्माणकार्य निर्धारित समयमा सकिनु पर्ने र यसलाई स्थानीयको आम्दानी तथा संस्कृतिसित जोडिनुपर्ने बताउनुभयो ।

“यो महाकाली नदी हो, त्यसैले कालीमाता र शान्तिको सन्देश दिने गरी बुद्धको मूर्ति राख्न राम्रो हुन्छ” उहाँले भन्नुभयो । पुल निरीक्षणसँगै उहाँले महाकाली पुल जोड्ने छ लेन सडकसमेतको निरीक्षण गर्नुभयो । सडक निर्माणले स्थानीय बासिन्दाको आयमा वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेता नेपालसँग पुल निरीक्षणमा नेकपा केन्द्रीय सदस्य रामकुमार ज्ञवाली, कञ्चनपुर क्षेत्र नं ३ का साँसद डा दिपकप्रकाश भट्टसहित सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार, लालबहादुर खड्का, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, पूर्वमन्त्री उर्वादत्त पन्तलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.