खेल

हेटौंडा उपमहानगरपालिकाले दियो धुर्मुस सुन्तली फाण्डेशनलाई ३० लाख

चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणमा जुटिरहेको धुर्मुस सुन्तली फाउण्डेशनलाई हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ आर्थिक सहायता दिएको छ ।

यसअघि दुईवटा भुकम्प पीडितका लागि र दुईवटा तराईका मुसहरका लागि एकीकृत बस्ती बनाइसकेको फाउण्डेशनलाई उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले रंगशाला निर्माणस्थलमा नै पुगेर मंगलबार ३० लाख रुपैयाँको चेक धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गर्नुभएको छ ।

उपमहानगरप्रमुख महत सोमबार रंगशालाको अवलोकन गरेपछि तत्कालै निर्णय गराएर मंगलबार आफैं चेक बोकेर रंगशालामा पुग्नुभएको थियो । रंगशाला निर्माणमा आर्थिक सहयोग गर्ने हेटौंडा उपमहानगरपालिका पहिलो स्थानीय तह बनेको छ ।

रकम हस्तान्तरणपछि हेटौंडा उपमहानगरपालिकाका प्रमुख महतले देशकै गौरव बढाउने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा देशभरका सबै स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउँदै कुनै भूगोल बिषेशमा रंगशाला बनिरहेको भए पनि तीन करोड नेपालीको साझा गौरव र धरोहर भएकोले रंगशाला बनाउन सबै तहले साथ दिनुपर्ने महतको भनाइ थियो ।

महतले हेटौंडा उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट जम्मा भएको रकम रंगशालाका लागि सहयोग गरेको बताउँदै सबै स्थानीय तहले जति सक्छ त्यति सहयोग गरौं, कोही पनि नछुटौं भन्दै वृद्धवृद्धाले वृद्ध भत्ता ल्याएर दिनुभएको छ भने हामीले किन सहयोग नगर्ने भन्ने प्रश्न गर्नुभयो ।्

त्यस्तै धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मस र उपाध्यक्ष कुन्जना घिमिरे सुन्तलीले हेटौंडा उपमहानगरपालिका रंगशाला बनाउन आर्थिक सहयोग गर्ने पहिलो स्थानीय तह बनेको भन्दैं महानगरपालिका र हेटौडा नगरवासीलाई धन्यवाद दिंदै अध्यक्ष कट्टेलले हरेक जिल्लाको प्रतिनिधित्व हुने गरी रंगशालाका कक्षहरु बनाइने हुँदा सबै जिल्लाका नागरिक, संघसंस्था र स्थानीय तहको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

यसै गरी रंगशाला बनाउन भरतपुर महानगरपालिकाले ६ करोड ५० लाख रुपैयाँ रकम दिने घोषणा गरेको छ । यो रकम दिने प्रक्रिया अघि बढेको महानगरले जनाएको छ । यस्तैं प्रदेश ३ सरकारले रंगशालाका लागि ५ करोड रुपैयाँ रकम दिने घोषणा गरेको छ । घोषणा गरेको रकम भरतपुर महानगरपालिकाको खातामा पठाएको छ । चितवनका अन्य स्थानीय तहले भने अहिलेसम्म रकम दिने घोषणा गरेका छैनन् ।

चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसरको शान्तिचोकमा रहेको २० बिघा ८ कठ्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुबिधा सम्पन्न रंगशाला निर्माण भइरहेको छ । २०७५ माघ १६ गते अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिएको थियो । दुई वर्षभित्र निर्माण सक्ने योजना छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.