विश्व समाचार

८० अमेरिकी सैनिक मारिएको इरानको दावीपछि ट्रम्पको टिप्पणी 'अल इज वेल'

आफ्ना सैन्य कमाण्डरको बग्दातमा अमेरिकी आक्रमणमा मारिएपछि इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गर्दा ८० भन्दा बढी अमेरिकी सैनिक मारिएको दावी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणबाट केही क्षति नभएको भन्दै ‘अल इज वेल’को प्रतिक्रिया दिनुभएको छ ।

सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि इरानले अमेरिकासँग बदलास्वरूप इराकस्थित अमेरिकी सैनिक क्याम्पमा मिसाइल हमला गरेको हो । बुधबार बिहानै इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य अड्डामा एकसाथ झन्डै दर्जन बढी मिसाइल हानेको हो । मिसाइल हमलाबाट भएको क्षतिको विवरण आइसकेको छैन । तर अमेरिकी राष्ट्रपति ट्रम्पले केही क्षति नभएको दावी गर्नुभएको हो ।

ट्रम्पले ट्वीटरमा लेख्नुभएको छ, ‘अल इज वेल ! इराकका दुई सैन्य अड्डामा इरानबाट मिसाइल आक्रमण भएको छ । आक्रमणबाट भएको मानवीय र भौतिक क्षतिको अध्ययन हुँदैछ । अहिलेसम्म सबै ठीक छ । हामीसँग अहिले संसारकै सबैभन्दा बलियो र शस्त्रले सुसज्जित सैनिक छ । यसबारे म भोलि बिहान प्रतिक्रिया दिनेछु ।’

यसअघि ट्रम्पले इरानले आफ्ना नागरिक र सम्पत्तिमाथि हमला गरे इरानका ५२ साँस्कृतिक महत्वका स्थानमा आक्रमण गर्ने चेतावनी दिनुभएको थियो । ट्रम्पको सो भनाई आइरहँदा इरानले आफ्नो मिसाइल आक्रमणमा ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी गरेको छ ।

मंगलबार मात्र इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको थियो । इरानी सरकारी टेलिभिजनले समाचार सार्वजनिक गर्दै भनेको छ- “बुधबार बिहानै मिसाइल आक्रमण गरी इरानले ८० अमेरिकी आतंकवादी’ मारिदिएको छ ।”

सम्बन्धित खबर

Back to top button