अमेरिका इरानसंग बिनासर्त गम्भीर वार्ता गर्न तयार
संयुक्त राज्य अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गर्दै इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानका कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्यले वार्ता गर्न तयार रहेको बताएकी छन् ।
सुलेमानीको हत्यापछि इरानले इराकस्थित अमेरिकी सैनिक शिविरमा क्षेप्यास्त्र आक्रमणपछि अमेरिकाको यस्तो भनाई आएको हो । उसले संयुक्त राष्ट्रसङ्घलाई एउटा पत्र लेख्दै सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको हो । उता इरानले पनि सो आक्रमण आफूले आफ्नो रक्षार्थ चालेको संयुक्त राष्ट्रसङ्घलाई बताएको छ ।
सुलेमानीको हत्या संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क पत्रमा गरिएको छ । सो धारामा कुनैपनि राज्यले आफ्नो रक्षा गर्ने अधिकार प्रयोग गरी गरेको कुनै पनि कारबाही तुरुन्तै सुरक्षा परिषद्लाई जानकारी गराउनुपर्ने उल्लेख छ। उक्त पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने लेखिएको छ ।
इरानले पनि धारा १५ कै आधारमा अमेरिकी सेनामाथि गरिएको आक्रमणलाई उचित ठहर्याएको छ । इरानका दूत माजिद तख्तले तेहरानले युद्ध नचाहेको बताएका छन् ।
इरानको नीतिनिर्माताका रूपमा हेरिने सुलेमानी इरानमा धेरै शक्तिशाली र निकै लोकप्रिय थिए । उनको अन्तिम संस्कारमा दशौँ लाख इरानीहरू सहभागी भएका थिए ।
उता अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसबाहिर सम्भावित युद्धको विरोध गर्दै केही मानिसहरू बिरोध प्रदर्शनमा उत्रिएका छन् । पछिल्लो समय दुई मुलुकको तनावले मध्यपूर्वको शान्ति सुव्यवस्था अरु खस्कने मात्र हैन विश्वको अर्थव्यवस्थालाई नै गम्भीर मोडमा पुर्याउने चेतावनी दिन थालिएको छ ।