राजनीति

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका बारेमा चारसय ४३ जनाको भनाई पुस्तकमा

नेपाल एकीकरणका मुख्य पात्र राजा पृथ्वीनारायण शाहको जीवनीमा आधारित पुस्तक ‘अनेकौँका दृष्टिमा राष्ट्रनिर्माता’को आज काठमाडौँमा लोकार्पण गरिएको छ । विभिन्न विधाका ४४३ लेखकको लेख समेटिएको एक हजार ४०४ पृष्ठ लामो उक्त पुस्तक काठमाडौँमा बिहिबार प्रधानसेनापति पूर्णचन्द्र थापाले लोकार्पण गर्नुभयो ।

कार्यक्रममा प्रधानसेनापति थापाले गोरखा राज्यका राजा पुथ्वीनारायण शाहको दुरदृष्टि र दशकौँको मेहनतबाट हासिल भएको सफलताले नेपाल निर्माण भएकाले सबै नेपालीका लागि प्रेरणाको रुपमा रहेको बताउनुभयो । उहाँले अख्तियार गरेको रणनीति र शासन प्रणाली तथा दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको प्रधानसेनापति थापाले उल्लेख गर्नुभयो ।

नेपाली नागरिकलाई एकीकरण अभियानको भौतिक अनुभूति प्रदान गर्दै राष्ट्रिय एकता अभिवृद्धि गर्ने अभिप्रायका साथ नेपाली सेनाको पहलमा एकीकरण मार्ग कार्यक्रम थालिएको जानकारी दिँदै थापाले नेपाल एकीकरणका दौरान प्रयोग भएका पदमार्ग र एकीकरण अभियानसँग सम्बन्धित इतिहास र ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सेनाबाट शुरु गरिएको बताउनुभयो ।

समारोहमा पुस्तकका प्रधानसम्पादक सोडारीले पृथ्वीनारायण शाह योद्धाका रूपमा मात्रै नभइ सैनिकको मनोबल कसरी बढाए, विद्धानलाई कसरी उपयोग गरे, जनतालाई कसरी उत्साहित बनाए भनेर पुस्तकमा समावेश गरिएको बताउनुभयो । आफ्नो कालमा केही त्रुटी गरेपनि नेपाल एकीकरणमा महत्वपूर्ण योगदान गरेकाले उहाँको बहुआयामिक पक्ष पुस्तकमा समेटिएको उहाँले जानकारी गराउनुभयो ।

इतिहासकार दिनेशराज पन्तले नेपालको पुनःएकीकरणको काम पुथ्वीनारायण शाहले गरेकाले आज हामी नेपाली भनेर शिर ठाडो बनाउन सकिएको उल्लेख गर्दै यो पुस्तक हरेक नेपालीका लागि उत्तिकै महत्वको रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्व रथि अमर पन्तले नेपाललाई साझा फूलबारी बनाउने पृथ्वीनारायण शाह बहुआयामिक व्यक्ति भएको भन्दै इतिहासलाई जीवन्त राख्ने काम पुस्तकले गरेको बताउनुभयो । उहाँले वर्तमान समयमा सीमा मिचिएको बेला पुथ्वीनारायण शाहको योगदान स्मरणीय रहेको उल्लेख गर्दै देशको सीमा जोगाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिनुभयो ।

हरिप्रसाद सोडारीको प्रधान सम्पादकत्वमा निर्माण भएको पुस्तकको मूल्य रु पाँच हजार राखिएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.