राजनीति

सामाजिक सेवालाई राजनीतिक आँखाले हेर्न नहुने : आरजु राणा

नेपाली कांग्रेसकी  नेतृ डा आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक दृष्टिल हेर्न नहुने धारणा राख्नुभएको छ । जाजरकोटका भूकम्पपीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई ‘डिग्निटी किट’ तथा पौष्टिक तथा पोषिलो आहारसहितको झोला हस्तान्तरणका अवसरमा उहाँले सामाजिक सेवामा राजनीति घुसाउन नहुने बताउनुभयो ।

नेपाली काँग्रेसकी नेतृ

नेता राणाले भन्नुभयो, “यो सामाजिक सेवा हो, पार्टीगत कुरा हुँदैन, यसमा राजनीति छैन, जसलाई पर्छ उसैलाई सहयोग गर्ने हो । तरुण दलले जागरकोट पुगेर घर बनाउने काम गर्यो त्यसपछि तरुण दलकै विश्वासमा उहाँहरुसँगै यी सामग्री पीडितका लागि पठाइएको हो ।”

प्रतिनिधिसभा सदस्य एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहनुभएकी डा राणाले विपद्का बेला नागरिकलाई सहयोग गर्नु दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक कार्यकर्ता भएको नाताले पहिलेदेखि सहयोग गर्दै आएको हो, जाजरकोट भूकम्पका कारण गर्भवती, सुत्केरीलाई धेरै गाह्रो छ भन्ने जानकारी आएपछि सहयोगका लागि यहाँ आएका हौँ ।”

त्यस अवसरमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले आफूहरु भूकम्पपछि जाजरकोट पुगेर अस्थायी टहरा निर्माण गरी फर्केको र भूकम्पपीडितको अवस्था अत्यन्त दयनीय रहेको बताउनुभयो । “त्रिपालमुनि बसेका ७२ परिवारलाई हामीले १० दिनभित्र अस्थायी टहरामा सार्न सफल भयौँ”, उहाँले भन्नुभयो, “यी सामग्री हामी जाजरकोटका पीडितको हातमा पुर्याउँछौँ ।”

डिग्निटी किट एवम् पौष्टिक तथा पोषिलो आहारसहितको एक हजार थान झोला भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई वितरण गरिनेछ ।

अठार प्रकारको सामग्री भएको किटको सङ्ख्या पाँच सय थान र १५ प्रकारको सामग्री भएको किटको संख्या पाँच सय थान छ । वितरण गरिने सामग्रीमा ज्याकेट तथा ट्राउजर, उनीको मोजा, स्यानेटरी प्याड, बच्चाको कम्मल र कपडा, तौलियालगायत छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.