जन सरोकार

शुभकर्मदेखि मृत्युसम्म उत्तम मानिने मकर सङ्क्रान्तिको व्यवहारिक महत्व

वैदिक सनातन धर्म, संस्कृति, परम्परा र सामाजिक रीतिरिवाजमा हरेक दिन, महिनालाई विशेष रुपमा लिइन्छ । यस्तै विशेष दिन हो सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने माघ १ गते ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् र मौसम न्यानो हुँदै जान्छ । यति मात्र हैन माघ १ गतेदेखि उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

यसैले यो दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ ।

शुभकर्मका साथै यो समयको मृत्यु समेत उत्तम मानिने शास्त्रीय मान्यता छ । हिमालदेखि तराईसम्म माघ १ गते विशेष मेला लाग्दछ । सबै जातजाति, समुदायले आआफ्नै संस्कार र परम्परागत मान्यता अनुसार माघे संक्रान्ति मनाउँछन् । तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रूपमा मनाउँछन् ।

वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । माघ १ गते स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

माघ महिनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि नै शुरु भइसकेको छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.