उदयपुरको जंगलमा मानव कंकाल फेला
उदयपुरको त्रियुगा नगरपालिका १६ मा पर्ने सुकौरा गाउँ नजिकैको जंगलमा मानव कंकाल फेला परेको छ । पुरुष वा महिला भन्ने कुरा प्रष्ट हुन नसकेको उक्त कंकाल दुईतीन महिना अघिको हुनसक्ने र त्यहाँ रहेका कपडाको आकलनले भने पुरुषकै हुनसक्ने अनुमान स्थानीयको छ ।
जिल्लाको धरापे गाउँबाट करिब दुईकिलोमिटर टाढाको जंगलमा विहेका लागि पात टिप्न गएका गाउँलेहरुले जंगलमा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । कंकाल फेला परेको खबरपछि मुचुल्का उठाउन प्रहरी खटिएको छ । शुक्रबार अबेर भएकाले शनिबार जिल्ला प्रहरी कार्यालयबाट टोली खटिगएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताउनुभयोे ।
प्रहरी चौकी सुकौराले शुक्रबार नै कंकाल रहेको स्थान हेरेर सुरक्षा निगरानीमा राखेको छ । जंगलबीचमा छागो खस्ने अप्ठेरो ठाउँमुनि कंकाल रहेको स्थानीयले बताएका छन् ।
कंकाल फेला परेको खबर लगत्तै घटनास्थल पुगेको सुकौरा प्रहरी चौकीले गाउँघरमा कोही हराएको छ कि भनेर सोधीखोजी गरिरहेको छ । तर हालसम्म कोही हराएको जानकारी नआएको जनाएको छ । टाढाकै मानिसको कंकाल हुनसक्ने अनुमान स्थानीयको छ ।
प्रतिक्रिया राख्नुहोस्