जन सरोकार

होस पुर्याउनुस् जाडो भगाउन आगो बालेर सुत्दा ज्यानै जाला

जाडो महिनामा राति आगो, हिटर आदि बालेर सुत्दा आगलागी हुनुका साथै निस्सासिएर मृत्यु समेत हुने गरेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगो बालेर नसुत्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्राधिकरणले घरमा जाडो भयो भनेर झ्याल ढोका थुनेर आगो बाल्दा निसास्सिएर मानिसको ज्यान जान सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले विभिन्न जिल्लमा आगो बालेर बस्दा वा सुत्दा कपडामा आगो सल्किएर घटना भएको जानकारी दिनुभयो ।

पछिल्लो पटक काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित खड्कागाउँका ८४ वर्षीय एक पुरुषको आगलागीबाट मृत्यु भएको छ । सोमबार कोठामा हिटर बालेर सुतेकोमा ओछ्यानमा आगो सल्किँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले एक सूचना जारी गरी जनाएको छ ।

यस्तै कैलालीको धनगढीस्थित भन्सार रोडमा एक महिला आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई घाइते भएको जनाइएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ लोकासिङस्थित एक गोठ र भान्सा घरमा अचानक आगलागी हुँदा गोठ पूर्णरुपमा नष्ट भएको र सो क्रममा झण्डै रु चार लाखको क्षति भएको जनाइएको छ ।

अछामको मेल्लेख गाउँपालिका–३ दर्बास्थित एक किराना पसलमा अचानक आगलागी हुँदा पसल, एउटा मेडिकल पसल र एक सिलाइकटाइको पसलमा समेत आगलागी भएको प्राधिकरणले आज जारी गरेको सूचनामा उल्लेख छ । गएको वैशाख यता एक हजार ५०० आगलागीका घटनामा ४९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.