जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

सिन्धुली, बारा र नुवाकोटमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिन्धुली, दुधौली नगरपालिका-७ सुगारेस्थित सडकमा खोरभञ्याङबाट कटारीतर्फ जाँदै गरेको ना.६ त २५२९ नम्बरको ट्याक्टर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय विनोद सदाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि स्वस्तिक अस्पताल बर्दिवास महोत्तरी रिफर गरिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै बारा, परवानीपुर गाउँपालिका-५ नौतन बहुर्अरीस्थित सडकमा डीएल १ सिएच २३६० नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ऋषि मुनि साहकी छोरी ६ वर्षीया प्रिति कुमारी साहको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कारमा सवार दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै नुवाकोट, बेलकोटगढी नगरपालिका-८ शिरखालीस्थित सडकमा बा.३ क ३७२२ नम्बरको बसमा बा प्र.०२-०४६ प १५२९ र बा प्र.०२-०४४ प ३६९२ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा बा प्र.०२-०४६ प १५२९ नम्बरको मोटरसाइकल चालक ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने २० वर्षीय रूबिन रावल र सोही मोटरसाइकलमा सवार ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने १९ वर्षीय स्वीकार रानाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा प्र.०२-०४४ प ३६९२ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई उपचारको लागि ग्राण्डी अस्पताल काठमाडौं पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.