विश्व समाचार

न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री पहिरन चेत नभएका सरल नेता

न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री क्रिस हिप्किन्सले आफ्ना पूर्ववर्ती अधिकारी जसिन्डा आर्डनले झै प्रशंसक र समर्थको भीड एकत्र गर्न नसके पनि उहाँ राजनीतिक समझ, पहिरनमा कमजोर चेत र ‘डायट कोक’का निम्ति आफ्नो देशका जनतामाझ सुपरिचित हुनुहुन्छ ।

चवालीस वर्षीय हिप्किन्सले बुधबार बिहान २० वर्षदेखिको आफ्नो साथी आर्डनलाई प्रतिस्थापन गर्दै प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभयो ।

राष्ट्रको कार्यकारी प्रमुखको उत्तरदायित्व औपचारिकरूपमा बहन गरेसँगै उहाँले आफूमाथि सबैभन्दा ठूलो दायित्व आएको बताउनुभयो । भावी चुनौती सामना गर्न आफू उत्साहित र आल्हादित भएको पनि उहाँले बताउनुभयो । स्पष्टवक्ता हिप्किन्स कोभिड–१९ नियन्त्रणका शिल्पकार सहृदयी राजनीतिज्ञका रूपमा परिचित हुनुहुन्छ ।

देशको सर्वोच्च पदमा पुग्न लागेको खबर सार्वजनिक हुँदा गत हप्ता उहाँले पत्रकारहरूलाई आफूसँग देशवासी परिचित रहेका तथा उनीहरूका कमजोरीप्रति ममता र हाँस्नसक्ने आफ्नो स्वभाव भएको बताउनुभएको थियो ।

विद्यार्थी राजनीतिदेखि नै उहाँ जनतामाझ प्रिय हुुनुहुन्थ्यो । सन् १९९० मा विश्वविद्यालयको प्रस्तावित सुधारका कार्यक्रमप्रति असहमति जनाउँदै त्यसको विरोध गर्दा उहाँ पक्राउ पर्नुभएको थियो । राजनीतिक टिप्पणीकर्ता जोसे पगानी १४ वर्ष सत्ता र प्रतिपक्षमा बसेका हिप्किन्सलाई ‘व्यावहारिक, आकर्षक, कठोर एवम् सक्षम’ मान्नुहुन्छ ।

लेबर पार्टीको घट्दो लोकप्रियताका बीच बढ्दो मन्दी तथा पुनः आक्रामक बन्नसक्ने कन्जरभेटिभ विपक्षीलाई व्यवस्थापन गर्नुपर्ने गहन दायित्वमा पुग्नुभएको छ । प्रधानमन्त्री हिप्किन्सले करिब दुई वर्ष कोभिड नियन्त्रणका निम्ति मन्त्रीका रूपमा निर्वाह गर्नुभएको भूमिकाको सर्वत्र प्रशंसा भएको थियो ।

श्रमिकक परिवारको पृष्ठभूमिका नयाँ प्रधानमन्त्रीले सुरक्षा र शिक्षाको जिम्मेवारी सम्हालेर आफ्नो राजनीतिक यात्रालाई निरन्तर अघि बढाउनुभयो र सफलता पनि हासिल गर्नुभयो ।

तुलनात्मकरूपमा आफू निष्कपट, सबैलाई समान अवसर दिनुपर्ने समावेशी चरित्रको व्यक्ति भएको बताउँने उहाँ आफ्ना मातापिताले आफ्नो र आफ्ना दाजुको पालनपोषण एवम् शिक्षाका निम्ति कठोर परिश्रम गरेको उल्लेख गर्नुहुन्छ । उहाँको खानपानले आफ्ना साथीभाइ र समकक्षीको ध्यान आकर्षित गरेको प्रसङ्ग पनि रोचक छ । एकपटक हिप्किन्सका हाकिमले ‘हिप्किन्सलाई ससेज र डायट कोक भएपुग्छ’ भनेका थिए ।

प्रधामन्त्रीका सम्भावित उम्मेदवार ठानिएकी न्यायमन्त्री किरी अलान हिप्किन्सलाई अविश्वसनीयरूपमा सबल नेता मान्नुहुन्छ । देशलाई हाँक्नसक्ने क्षमता भएको नेताका रूपमा उहाँ हिप्किन्सलाई चित्रण गर्नुहुन्छ । विगतमा उहाँले गरेका कामको समीक्षा गर्दै न्यायमन्त्रीले त्यसो भन्नुभएको हो ।

साइकल चलाउन र फूलबारीमा काम गर्न रुचाउँने हिप्किन्सले संसद् जाँदा आफूले लगाउने लुगाले वस्त्रप्रतिको आफ्नो चेतना कमजोर भएको पत्रकारमाझ स्वीकार गर्नुभएको थियो । प्रधानमन्त्री आर्डनले पदत्यागको घोषणा गरेपछि पत्रकारमाझ प्रस्तुत हुँदा उहाँले रङ खुईलिएको टोपी, कालो चस्मा र शरीरमा टम्म नमिलेको सर्ट लगाउनुभएको थियो ।

राजधानी वेलिङ्टनस्थित भिक्टोरिया विश्वविद्यालयमा अपराधशास्त्र र राजनीति अध्ययन गर्नुभएका नवनियुक्त प्रधानमन्त्रीले औद्योगिक प्रशिक्षण क्षेत्रमा केही समय काम गर्नुभएको थियो । सन् २००८ मा संसद् सदस्य हुनुअघि उहाँ शिक्षामन्त्रीका वरिष्ठ सल्लाहकार तथा भूतपूर्व प्रधानमन्त्री हेलेन क्लार्कका वरिष्ठ सल्लाहकार हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.