राजनीति

राष्ट्रियसभा निर्वाचन : मधेशमा झडप, वाग्मतीमा विवाद

२१ सदस्यका लागि जारी राष्ट्रियसभा निर्वाचनमा सातवटै प्रदेशमा मतदान जारी छ । मतदानका क्रममा मधेश प्रदेशमा झडप भएको छ भने वाग्मती प्रदेशमा मतदाता र निर्वाचन अधिकृतबीच बाझाबाझ भएको छ ।

समाचार अनुसार मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच पटक–पटक झडप भएको हो । जनमत पार्टीका कार्यकर्ताहरु निर्वाचनस्थलमा समेत प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।

जनमत पार्टीका कार्यकर्ताहरुले प्रदेश सभा सदस्य मनिष सुमन तथा सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर सवार गाडी तोडफोड गरेका छन् । सो क्रममा सुमन र मेयर गणेश प्रसाईं सामान्य घाइते हुनुभएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव सवार गाडीमा पनि रामानन्द चोकमा तोडफोड भएको छ । गाडी चालक लक्ष्मी कुमार यादव घाइते हुनुभएको छ ।

किसानका मुद्दा उठाउँदै जिल्लामा गतिविधि गर्दै आएका उनीहरुले आज निर्वाचनको दिन बिहानैदेखि जनकपुरधामका चोकहरुमा टायर बालेर प्रदर्शन गर्दै आएका थिए ।

यसै गरी बागमती प्रदेशमा पनि केहीबेर तनाव भएको छ । प्रदेशसभामा माओवादी केन्द्रबाट समानुपातिक सांसद हिमाली गोलेले आफूले मतदान गरेको तस्वीर आफैंले खिचेपछि तनाव भएको हो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले गोलेलाई तस्वीर नखिच्न र खिचेको तस्वीर पनि हटाउन भनेपछि भनाभन भएको थियो । त्यही बेला माओवादी केन्द्रका अर्का प्रदेशसभा सदस्य राजकाजी महर्जनले पनि श्रेष्ठसँग विवाद गर्नुभएको थियो ।

श्रेष्ठले आफूले बनाएको कानून आफैंले उल्लंघन नगर्न भनेका थिए भने प्रदेशसभा सदस्यहरुले अपराध गरेजस्तो व्यवहार गरेको भन्दै प्रतिवाद गरेका थिए । त्यही बेला धकेलाधकेलको अवस्था सिर्जना भएको थियो । अन्य प्रदेशहरुमा निर्वाचन शान्तिपूर्ण छ ।

मतदानको समय अपराह्न तीन बजेसम्म तोकिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button