रेमिट्यान्सको दुई तिहाई रकम घरखर्चमै सकिने
मुलुकका कुल राष्ट्रिय आयमाा झण्डै २५ प्रतिशत योगदान रहेको वैदेशिक रोजगारीबाट भित्रिएको रकममध्ये दुई तिहाई घरखर्चमै सकिने गरेको छ । भित्रिएको रकम उत्पादनमूलक क्षेत्रामा लगानी बढाउनु त कता कता उल्टै खेतबारी बाँझो छाडेर शर पस्ने प्रवृत्ति बढेको छ ।
राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वैदेशिक रोजगारीले गरिबी निवारण र सामाजिक सुरक्षामा पारेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन, २०७९ ले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको धेरै हिस्सा परिवारको पालनपोषणमै खर्च हुने गरेको छ ।
यसले तत्काल राष्ट्रिय आयमा वृद्धि र जीवनस्तरमा सुधार आएको देखिए पनि उत्पानशीलता घटेको छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिको कमाइमध्ये ३५ प्रतिशत खाना र घर भाडामा, कपडा/शृङ्गारमा २० प्रतिशत, बालबच्चाको शिक्षामा १५ प्रतिशत, घुमफिरमा २० प्रतिशत र १० प्रतिशत स्वास्थ्य उपचारमा खर्च हुने गरेको छ ।
परामर्शदाता डा. चन्द्रप्रसाद ढकाल नेतृत्वको समूहले काठमाडौँ जिल्लाका काठमाडौँ महानगरपालिका–१४, कीर्तिपुर नगरपालिका–२, तारकेश्वर नगरपालिका–५ र चन्द्रागिरि नगरपालिका–९ बाट २५/२५ जना गरी एक सय जना वैदेशिक रोजगारीमा गएका परिवारसँग गरिएको विश्लेषणात्मक अध्ययनमा यस्तो पाइएको हो ।
सो प्रतिवेदनअनुसार विप्रेषणका कारण वैदेशिक रोजगारीमा गएका ७० प्रतिशत व्यक्तिको घरपरिवारको आर्थिकस्तरमा परिवर्तन भएको छ भने ३० प्रतिशत परिवारको आयस्तरमा परिवर्तन हुन सकेको छैन ।
वैदेशिक रोगगारीमा गएकामध्ये ४० प्रतिशतले वार्षिक तीन लाखदेखि चार लाख रुपियाँसम्म कमाउने गरेका छन् भने २५ प्रतिशतले तीन लाख रुपियाँसम्म, २५ प्रतिशतले चार लाखदेखि पाँच लाख रुपियाँसम्म र १० प्रतिशतले पाँच लाख रुपियाँमाथि कमाउने गरेको अध्ययनमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा गएका परिवारको वार्षिक खर्च हेर्दा ३५ प्रतिशतले दुई लाखदेखि तीन लाख रुपियाँसम्म खर्च गर्ने गरेका छन् भने २५ प्रतिशतले दुई लाखसम्म, ३० प्रतिशतले तीन लाखदेखि चार लाख रुपियाँसम्म र १० प्रतिशतले चार लाखभन्दा बढी खर्च गर्ने गरेको अध्ययनले देखाएको छ ।
त्यसैगरी अध्ययनमा वैदेशिक रोजगारीमा गएका व्यक्तिको पारिवारिक बचतको अवस्था हेर्दा २५ प्रतिशतको विदेशमा कमाएको भन्दा बढी खर्च भएको पाइएको छ भने ७५ प्रतिशतले भने केही अंश बचत गर्न सकेको उल्लेख छ । सो अध्ययनअनुसार वैदेशिक रोजगारीमा जानेको देशगत रूपमा हेर्दा खाडी मुलुकमा ६० प्रतिशत गएको देखिन्छ भने भारतमा २० प्रतिशत, दक्षिण कोरिया ७ प्रतिशत, युरोप/अमेरिका, जापानमा ५/५ प्रतिशत र अन्यमा ३ प्रतिशत गएका छन् ।
सो अध्ययनमा वैदेशिक रोजगारीमा जाने क्रममा तिरेको लागत हेर्दा ५० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म तिर्ने ३५ प्रतिशत, एक लाखदेखि दुई लाख रुपियाँसम्म तिर्ने ४० प्रतिशत र दुई लाखभन्दा माथि तिर्ने २५ प्रतिशत रहेको छ ।
वैदेशिक रोजगारीमा जाने रकमको स्रोतको अवस्था हेर्दा ३५ प्रतिशत साहुबाट, २५ प्रतिशत बैङ्कमा धितो राखेर घरका पशुचौपाया बेचेर र अन्य विकल्पबाट २५/२५ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा गएकामध्ये ४५ प्रतिशत पाँच वर्षभन्दा बढी बस्ने गरेको पाइएको छ भने दुई वर्षदेखि पाँच वर्षसम्म बस्ने ३५ प्रतिशत र दुई वर्षभन्दा कम बस्ने २० प्रतिशत रहेको पनि सोही अध्ययनमा उल्लेख गरिएको छ ।
सो अध्ययनले वैदेशिक रोजगारीमा गएका परिवारमध्ये ६० प्रतिशतलाई आर्थिक रूपमा राम्रो भएको पाइएको छ भने ४० प्रतिशतको विदेशमा कोरोनाका कारण विदेशमा उद्योग बन्द हुनु, वैदेशिक रोजगारीमा जाँदा लागेको ऋणको ब्याज नेपालमा महँगी बढ्नुलगायतका कारणले आर्थिक रूपमा झन् असहज भएको देखाएको छ ।
अध्ययनमा वैदेशिक रोजगारीले परिवारका सदस्यमा घरायसी सामान खरिदमा खर्च ४३ प्रतिशतले बढेको छ भने शिक्षामा २९ प्रतिशत, विलासिताका वस्तुको खर्चमा १४ प्रतिशत र स्वास्थ्य उपचारमा १४ प्रतिशत खर्च भएको छ ।
अध्ययनमा वैदेशिक रोजगारीमा गएकामध्ये १५ प्रतिशतको पारिवारिक विचलन, ५० प्रतिशतको घरपरिवारमा वृद्धवृद्धा हेरचाहमा नकारात्मक असर परेको छ भने ३५ प्रतिशत अन्य समस्यालाई जस्तै, स्वास्थ्यमा आएको समस्या रहेको पाइएको छ ।
पूर्वश्रम सचिव पूर्णचन्द्र भट्टराईले वैदेशिक रोजगारीबाट आएको विप्रेषणको ठूलो हिस्सा जीविकोपार्जनमै खर्च भएको र यसलाई आफूले सकारात्मक लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको जीवन विकासमा भएको लगानीलाई उत्पादनमूलक नै भन्नुपर्छ, यो नागरिक जीवनस्तरमा आएको परिवर्तनलाई सकारात्मक रूपमा हेर्नुपर्छ ।”
वैदेशिक रोजगारीबाट भित्रिएको विप्रेषणले नेपालको गरिबी न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान रहेको भन्दै भट्टराईले आर्थिक, सामाजिक, शैक्षिक स्तर र स्वास्थ्यमा राम्रो प्रगति भएको बताउनुभयो ।
वैदेशिक रोजगारीले खेतीपाती बाँझो हुने, बुढा बुवाआमामा एक्लोपन, बालबच्चामा बाबुआमाको साथको अभावले मनोसामाजिक रूपमा समस्या पर्ने क्रम बढेको चर्चा गर्दै उहाँले यसलाई सक्दो कम गर्ने विषयमा राज्य, समाज र स्वयं व्यक्ति पनि सचेत हुनुपर्छ भन्नुभयो ।
वैदेशिक रोजगारीका अध्ययनकर्ता रामेश्वर नेपालले वैदेशिक रोजगारीबाट आएको विप्रेषणले परिवारका सदस्यको जीवनस्तरदेखि बसाइँसराइसम्म उत्प्रेरणा गरेको बताउनुभयो ।
हाल सहरी क्षेत्रमा जमिनको मूल्य बढाउनमा पनि वैदेशिक रोजगारीको प्रभाव रहेको धारणा व्यक्त गर्दै उहाँले भन्नुुभयो, “श्रीमान् वैदेशिक रोजगारीमा गए भने श्रीमती बच्चासहित सहरमा बस्छन् । सकेसम्म त्यही ठाउँमा जग्गाजमिन किन्ने प्रवृत्ति बढेको छ, जसले गर्दा जग्गाको भाउ बढेको हो ।”





प्रतिक्रिया राख्नुहोस्