राजनीति

शहीद सप्ताहको छैठौं दिन शहीद श्रेष्ठ र चन्दप्रति श्रद्धाञ्जलि

शहीद गङगालाल श्रेष्ठ

शहीद सप्ताहको छैठौं दिनआज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिकमा माल्यार्पण गरी उहाँहरुप्रति श्रद्धाञ्जलि दिइएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा उहाँहरुलाई प्राणदण्ड दिइएको स्थान शोभाभगवती विष्णुमती नदी किनारामा कामपाले गत वर्ष निर्माण सम्पन्न गरेको पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको थियो ।

सभामा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने शहीदको योगदान कसैसँग तुलना हुन नसक्ने बताउनुभयो । कामपा वडा नं १५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

हुकुमी शासनविरुद्ध काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएका आरोपमा १९९७ साल माघ १५ गते श्रेष्ठ र चन्दलाई शोभाभगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । बैतडीमा जन्मिनुभएका चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यस्तै रामेछापको भँगेरीमा जन्मिनुभएका श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणाशासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो ।

विगत वर्ष झैँ यस वर्ष पनि कामपाले यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाइरहेको छ । राणाशासनको विरोध गरेको आरोपमा१९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशम्शेरसहितको इजलासले श्रेष्ठ, चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र पूर्णनारायण प्रधान गरी पाँचजनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।

पछि पूर्णनारायणको सजायलाई आजीवन कैदमा परिवर्तन गरियो । कारागार सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु पचलीस्थित खरीबोट र माथेमालाई सिफल उकालो बकाइनाका रूपमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्बीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीदोद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने छ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । विसं २०१२ देखि कामपाको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाउँदै आएको छ ।प्रजातन्त्र प्राप्तिका लागि १९९७ सालमा काठमाडौँका विभिन्न स्थानमा शहादत प्राप्त गर्नुभएका चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ ।

यसैबीच सरकारले लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा जीवनोत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवारलगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको छ । मन्त्रिपरिषद्को यही माघ ११ गते बसेको बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका संयोजकत्वमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फे सदस्य रहेको समिति गठन गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.