जन सरोकार

देशैभर भारी वर्षा र हिमपात, जनजीवन प्रभावित

पश्चिमी वायुको प्रभावले देशैभर वर्षा भैरहेको छ । बुधबार रातिदेखि बदलिएको मौसमका कारण उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ भने जनजीवन कष्टकर बनेको छ ।

रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यसअघि परेको हिउँ बिलाउन नपाउदै फेरि हिउँ थपिएपछि चिसोका कारण दैनिकी कष्टकर बनेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरुङले बताउनुभयो । मैकोटलगायत आसपास क्षेत्रमा यसअघि परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएपछि घरबाट बाहिर निस्कन पनि मुस्किल परेको उहाँको भनाइ छ ।

बाक्लो हिउँ जमेका कारण मैकाटका नागरिकलाई गाउँपालिकाको केन्द्र तकसेरा र सदरमुकाम रुकुमकोट झर्न समस्या भएको त्यहाँका स्थानीयवासीले बताएका छन् । यस्तै हिउँले जमिन ढाक्दा पशुचौपायलाई चरन क्षेत्रको अभाव खड्किएको मैकोटमा अर्का स्थानीयवासी विकास पुनले बताउनुभयो । पहिले भण्डारण गरी राखेको घाँसपात सकिएकाले अहिले पशुचौपायलाई के खुवाउने भन्ने पीर किसानलाई परेको उहाँको भनाइ छ ।

हिमपातका कारण लामो समययता विकास निर्माणका कामकाज सञ्चालन गर्न पनि नसकिएको पुथाउत्तरगङ्गा गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष मग कामीले बताउनुभयो । समयमै विकास निर्माणका काम सञ्चालन गर्न नसक्दा वडालाई घाटा भएको उहाँले बताउनुभयो । यस्तै वडा नं २, ३, ५ लगायतमा पनि विकास निर्माणका काम ठप्प रहेका छन् । यस वर्ष जिल्लामा सातौँ पटकसम्म हिमपात भइसकेको छ ।

उता बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ ।

राजमार्ग अवरुद्ध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अहिले यहाँको गैरा तथा बुडर बजारमा रोकिएका छन् । उक्त राजमार्गअन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ । यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत डोटीको चौखुट्टैमा बाक्लो हिमपात हुँदा बाजुरा, अछामबाट तराई जान आएका तथा तराईबाट पहाड जान हिँडेका सवारी तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

जनजीवन कष्टकर

गए रातिदेखि जिल्लाका विभिन्न क्षेत्रमा भारी हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । बाक्लो हिमपातकाका कारण नागरिक घरबाहिर निस्किन सकिरहेका छैनन् । यहाँका खप्तड, गोलादेउ, नापानी, चर्केकोलेक, बडिकेदारथान, अल्याडी, चौरीबाज, ओखरखाली, मुस्ताल, देउताल, शिखरगाथ क्षेत्रमा बिहीबारदेखि हिमपात भइरहेको छ । यस क्षेत्रमा केही हप्ता पहिले परेको पग्लिन नपाउँदै फेरि हिउँ परेपछि चिसो बढेको हो ।

पानीका मुहानदेखि रुखहरुमा समेत बाक्लो हिउँ जमेका कारण गाईवस्तुलाई घाँस काट्न र मानिसलाई पानी खानसमेत समस्या भएको बडिकेदार गाउँपालिका–२ का भरत बोहराले जानकारी दिनुभयो ।

त्यसै गरी परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार राति परेको हिउँ करिब छ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ पन्छाउन कठिनाइ उत्पन भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट बताउनुभयो । हेटौँडाबाट काठमाडौँतर्फ प्रस्थान गरेका सवारी त्रिभुवनराजपथको अघोरमा रोकिएको र आज अपराह्नसम्म मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

त्रिभुवन राजपथमा यातायात अवरुद्ध भए पनि पूर्वपश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा आज बिहानैदेखि सञ्चालन भइरहेको प्रवक्ता रिमालले बताउनुभयो । अहिले हेटौँडासहित जिल्लाका विभिन्न भागमा चट्याङ परिरहेको पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.