पश्चिमी वायु निस्क्रियसंगै अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना
विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम रातिदेखि क्रमिक सुधार हुँदै जाने भए पनि अर्को मौसमी प्रणाली विकसित हुने बताइएको छ ।

शनिबार रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले जानकारी दिनुभयो ।
आइतबारदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि पुनस्अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको उहाँले बताउनुभयो ।
राति प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
तराईका भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले औँल्याएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री र अधिकतम तापक्रम नौ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव एक डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्