रास्वपाको निर्णायक बैठक आज, के आउँला निर्णय ?
सरकारमा सहभागिता हुने वा नहुने भने विषयमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार बस्ने गरी स्थगित भएको छ । शनिबार बसेको बैठकमा कुनै निष्कर्ष नआएपछि बैठक आइतबार पुन: बस्नेगरी स्थगित भएको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय निस्कन नसकेको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । उहाँले नेताहरुले बोल्ने क्रम नसकिएकाले आइतबार फेरि बस्ने गरी बैठक सकिएको बताउनुभयो । बैठकमा चितवन-२ को उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो ।
गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको रास्वपालाई शनिबारै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय बाहेक अन्य मन्त्रालय लिन प्रस्ताव गर्नुभएको थियो । त्यस विषयमा निर्णय लिन शनिबार रास्वपाको आकस्मिक बैठक बसेको थियो । सरकारबाट बाहिरिनुभन्दा सहमति गरेर नै सरकारमा सहभागी हुनुपर्ने पार्टीका सदस्यहरुको माग छ ।
रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिन शनिबारसम्मको अल्टिमेटम दिएको थियो । सरकारमा बस्ने कि नबस्नेबारे आइतबार निर्णय गरिने रास्वपाले बताएको छ । बैठक बिहान साढे ११ बजे बैठक बस्नेछ ।
पार्टी सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा दोषी ठहरिएर उपपधान तथा गृहमन्त्रीको पद गुमेपछि सो पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीको भागमा आउनुपर्ने माग राख्दैआएको छ ।
सर्वोच्चको फैसलापछि नेपाली नागरिकता पुनः लिनुभएका सभापति लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक भेटे पनि प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गर्नुभएको थियो ।
वर्तमान मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।




प्रतिक्रिया राख्नुहोस्