सुदूरपश्चिममा उल्टिएको सत्ताले दिएको संकेत
वर्तमान केन्द्रीय सत्ता गठबन्धनको भविष्य कस्तो छ भन्ने सुदूरपश्चिम प्रदेशले संकेत दिएको छ । सो प्रदेशमा गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहीले नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बन्नुभयो ।
उहाँले शुक्रबार नै प्रदेश मन्त्रिमण्डल गठन गर्नुभयो । मुख्यमन्त्री शाहले पहिलो चरणमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यलाई समटेर मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।
कार्यविभाजन अनुसार कमलबहादुर शाह मुख्यमन्त्री, आन्तरिक मामिला, उद्योग पर्यटन वन तथा वातावरण, भूमिव्यवस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्री, प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास तथा नरेशकुमार शाही आर्थिक मामिला मन्त्री तोकिनुभएको छ ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुख वाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।
सुरुमा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरे पनि आफ्ना माग पूरा नगरेको भन्दै विश्वासका मत दिन अस्वीकार गरेको थियो । सोही अनुसार रावल अल्पमतमा पर्नुभएको हो । प्रदेशमा देखिएको यो असन्तुष्टि विस्तारै केन्द्रमा पनि सर्ने देखिएको छ ।
१९ सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ भने राप्रपा पनि प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबाट असन्तुष्ट रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको नाममा राष्ट्रपति नेपाली कांग्रेसलाई दिएर सत्ता थप सुरक्षित गर्ने दौडमा लाग्दा फागुन २५ लगत्तै सत्ता समीकरण नै बदलिने अवस्था आँकलन गर्न थालिएको छ ।





प्रतिक्रिया राख्नुहोस्