कर्पोरेट/पर्यटन

बलेवा विमानस्थल सञ्चालनको माग

बन्द अवस्थामा रहेको बागलुङको बलेवा विमानस्थल सञ्चालन गर्न माग गरिएको छ । आइतबारको गण्डकी प्रदेशसभा बैठकमा समेत सो विषयले प्रवेश पायो । प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठकले विमानस्थल सञ्चालनको पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बलेवा विमानस्थल

बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो, “मुख्यमन्त्रीमार्फत सङ्घीय सरकारसँग आवश्यक परामर्श र समन्वय गरेर विमानस्थल सञ्चालनमा ल्याउन माग गर्दछु ।” करोडौँ लगानी र जनश्रमदानमा बनेको विमानस्थल सञ्चालनमा आउन नसक्नु दुःखद् रहेको प्रदेशसभा सदस्य पाठकले बताउनुभयो ।

स्थानीयले पनि पटकपटक विमानस्थल छिटो सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै आएका छन् । धावनमार्ग कालोपत्र भएर नियमित उडानका लागि तयार अवस्थामा रहे पनि विमानस्थल कहिले सञ्चालनमा आउँछ, कुनै टुङ्गो छैन ।

बागलुङ–१४ स्थित उक्त विमानस्थलको धावनमार्गलाई नागरिक उड्डयन प्राधिकरणले रु आठ करोड २४ लाख खर्चेर गत वर्ष कालोपत्र गरेको थियो । विसं २०२२ मा बनेको विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि विसं २०४८ मा बन्द भएको थियो । २६ वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि विमानस्थल पुनः सञ्चालनमा ल्याइएकामा त्यसले पनि निरन्तरता पाउन सकेन । केही महिना चलेर विमानस्थल फेरि बन्द भयो ।

त्योबेला नेपाल र तारा एयरलाइन्सको टुइनटर विमानले हप्ताको दुई दिन उडान गर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने गरी नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो ।

पछि यात्रु पनि घट्ने र नगरपालिकालाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो । विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौँको भाडादर ६ हजार पाँच सय तोकेपछि यात्रुले पनि महँगो भएको गुनासो गरेका थिए । विमानस्थल पुग्ने सडक स्तरहीन हुनु र धावन मार्ग कालोपत्र नहुँदा पनि विमान सेवा नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । अहिले धावनमार्ग कालोपत्र गरिएको र सडकको सहज पुग्दासमेत विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको छ । जसमा साना तथा मझौला जहाजले उडान भर्न सक्छन् । बन्द अवस्थामा रहेका विमानस्थलहरुको अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले केही महिनाअघि उक्त विमानस्थलको स्थलगत अवलोकन गरेको थियो ।

भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि उक्त अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको थियो ।

नगरका पदाधिकारीसहित सरोकार भएका पक्षसँगको छलफलमा परामर्शदाता समूहका प्रमुख डा जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताउनुभएको थियो ।

उहाँले सरकारले करोडौँ खर्च गरेर बनाएको विमानस्थललाई धेरै समय प्रयोगविहीन अवस्थामा राख्न नहुनेमा जोड दिनुभएको थियो । नियमित विमान सेवाको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने सडक तरीय हुन सकेमा विमानस्थल चलाउन सकिनेमा स्थानीय जनप्रनिनिधि विश्वस्त छन् ।

बागलुङ–१ मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १० किमी सडक अहिले पनि कच्ची छ । बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले विमानस्थल जोड्ने सडक स्तरीय नभएसम्म विमानस्थल चलाउन कठिनाइ हुने बताउनुभयो ।

उहाँले विमानस्थलसम्म जोड्ने कालीगण्डकी करिडोर छिटो कालोपत्र गर्नुपर्ने बताउनुभयो । १० किमी उक्त खण्ड कालोपत्र हुँदासाथ विमानस्थलसम्म राष्ट्रिय राजमार्गको सहज पहुँच पुग्ने उहाँको भनाइ छ ।

सरकारको चालू बजेटमा पनि बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने उल्लेख छ । बलेवा विमानस्थल चलेमा धवलागिरि क्षेत्रको पर्यटन व्यवसाय उकासिनुका साथै आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने देखिन्छ । विसं २०२२ मा ४० हजारभन्दा बढीले श्रमदान गरेर बलेवा विमानस्थल बनाएका थिए । पहिले उक्त विमानस्थलबाट पोखरा, काठमाडौँ, भैरहवा र भरतपुरसम्म विमानले उडान भर्थे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.