जन सरोकार

जीतगढीमा अंग्रेज सेनामाथि विजयी योद्धाहरुको शालिक

बुटवल उपमहानगरपालिका नं १ मा रहेको ऐतिहासिक जीतगढी किल्लामा नेपाल अङ्ग्रेज युद्धका विजेता तत्कालीन नेपाली वीर योद्धाको सालिक निर्माण गरिएको छ ।

ऐतिहासिक पुरातात्विक सम्पदास्थल परिसरमा कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक यसअघि नै निर्माण गरिएको थियो । सोही सालिक नजिकै लहरै पारेर कर्णेल उजिरसिंहको नेतृत्वमा अङ्ग्रेजसँग युद्ध लडेका १३ सेनाका अर्धकदका सालिक निर्माण गरिएको हो ।

त्यस क्षेत्रमा करिब तीन बिघा जग्गामा विभिन्न गुरुयोजना बनाएर संरक्षण, सम्बद्र्धन र विस्तारका काम गरिएको छ । गुरुयोजनाअनुसार काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, शमशेर राना मगर, सरदार सुर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शुरवीर बोहरा, हवल्दार रणशुर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ र जुठे बस्नेतको सालिक निर्माण गरिएको छ ।

त्यस क्षेत्रमा प्रवेशका लागि किल्लाको झल्को दिनेगरी आकर्षक प्रवेशद्वारसमेत निर्माण गरिएको छ । परिसरमा हरियालीसहितको फूलबारी उद्यान र झिलमिली लाइटिङ र राष्ट्र धुनसहितको पानीका फोहोरा निर्माण गरिएको छ । जीतगढीमा निर्माण गरिएका यी संरचनाको एमाले सचिव तथा पूर्वमन्त्री छविलाल विश्कर्माले आज सालिक अनावरण र संरचनाको उद्घाटन गर्नुभयो ।

त्यस क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जीतगढी विजयीत्सव दिवसको मिति यकीन गर्नुका साथै गुरुयोजना बनाएर संरक्षण, प्रवद्र्धन र विस्तारका काम गरिएको बताउनुभयो । सहकार्य गर्ने नेपाली सेना, स्थानीय जनप्रतिनिधि, समुदाय, इतिहासविद् लगायतलाई धन्यवाद गर्नुभयो ।

जनप्रतिनिधि आएपछि ऐतिहासिक सम्पदास्थलको संरक्षण, सम्वद्र्धन र विस्तार भएपछि जीतगढीको कायापलट भएको संरक्षणकर्मी तथा अभियानकर्मी रवीन्द्रगोपाल लाकौलले खुसी प्रकट गर्नुभयो । जीतगढीमा फहराएको राष्ट्रिय झण्डाले स्वाभिमान र वीरताको गाथा झल्काइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.