जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा केही समयपछि सरकारमा सहभागी हुने बताउनुभएको छ ।
जसपा नेपाल जिल्ला समन्वय समिति, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रदेश सरकार निर्माणमा जसपाको भूमिका महत्वपूर्ण रहेको जनाउँदै केही दिनपछि सरकारमा जाने उल्लेख गर्नुभयो ।
जसपाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरी विश्वासको मतसमेत दिए पनि सरकारमा सहभागी नभएको जनाउँदै उहाँले नागरिकतासम्बन्धी समस्या समाधान, सत्ता साझेदारीमा सम्मानजनक सहभागिता हुनुपर्ने जसपाको माग रहेको बताउनुभयो ।
पहिले सिट बाँडफाँट गरेर बाँकी जसपालाई दिने कुरा स्वीकार्य नहुने उहाँको भनाइ छ । सङ्घीयतालाई मजबुत बनाउन सङ्घीय कानुन आवश्यक रहेको यादवले बताउनुभयो । “प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छैन, प्रहरी प्रशासनबिना सरकार चलाउन कठिन हुन्छ । प्रदेशलाई मजबुत बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।
सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता मधेस आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको बताउँदै उहाँले सङ्घीयता र गणतन्त्र समाप्त गरेर एकात्मक शासन व्यवस्था लाद्ने प्रयास भइरहेको बताउनुभयो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)सँग गठबन्धन नभई केही सिटमा तालमेल मात्रै भएको उहाँले बताउनुभयो । पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नौ र प्रदेशसभा सदस्यमा २१ सिट दिने भनिएपछि गठबन्धनबाट जसपा बाहिरिएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले समय परिस्थितिअनुसार गठबन्धन र तालमेल फेरबदल हुनसक्ने उल्लेख गर्नुभयो । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेका स्थानमा सफलता प्राप्त नभएपछि कांग्रेससँग एलायन्स गर्दा पार्टीलाई फाइदा नभएको निष्कर्षमा पुगेको उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्