राजनीति

स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित

बल्ल बल्ल घोषणा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन पुनः स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुने भनिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको हो ।

हरेक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०७३ सालपछि हुन सकेको छैन । २०७३ सालमा भएको स्ववियु निर्वाचनको इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रति निर्वाचन प्रणाली अवलम्वन गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयले मंगलबार आफू मातहतका सम्पूर्ण क्याम्पसहरुलाई परिपत्र गरी स्ववियु निर्वाचन स्थगित गरिएको जानकारी दिएको हो ।त्रिविअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले गरेको परिपत्रमा ‘विशेष कारणबस’ स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको उल्लेख छ ।

हालै नेतृत्व पाएको नेपाल विद्यार्थी संघ (नेबिसंघ)ले स्ववियु निर्वाचन तयारीका लागि त्रिविसँग केही समय माग गरेको थियो । नेकपासम्बद्ध अनेरास्ववियू पनि नेबिसंघको मागमा सकारात्मक थियो । १४ फागुनमा निर्धारित स्ववियु निर्वाचन स्थगित हुनुको कारण त्यही ठानिएको छ ।

यद्यपि नेबिसंघ अध्यक्ष राजिव ढुंगाना भने त्रिविको रेक्टर पद रिक्त रहेकाले स्ववियु निर्वाचनमा विलम्ब भएको दाबी गर्छन् । उनले भने, ‘हामी त स्ववियु निर्वाचनका लागि तयार नै छौं, तर निर्वाचन समितिको अध्यक्ष हुने रेक्टर पद नै रिक्त रहेकाले पहिले त्यो पदपूर्ति हुनुपर्छ ।’ त्रिविमा पदपूर्ति गरी तत्काल सबै विद्यार्थी संघ-संगठनको संयुक्त बैठक बोलाएर नयाँ मिति तय गर्न उनले माग गरे ।

अनेरास्ववियूले पनि तत्काल स्ववियु निर्वाचनको नयाँ मिति तोक्न माग गरेको छ । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले भने, ‘स्ववियु निर्वाचन अनिश्चितकालका लागि टरेको वा सरेको होइन । फागुन १४ को मिति चाहिँ सरेको छ । अब चाँडै सर्वपक्षीय बैठक बसेर विश्वविद्यालयले नयाँ मिति सार्वजनिक गर्नुपर्छ ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.