जन सरोकार

मेलम्चीको पानी भण्डारण हुने क्षेत्रमै खानेपानी अभाव

राजधानीबासीका लागि मेलम्चीको पानी वितरणका लागि बनाइएका दुई विशाल ट्यांकी र प्रशोधन केन्द्र रहेको गोकर्णेश्वर नगरपालिकाका आधाजासो वडामा खानेपानी अभाव छ ।

सुन्दरीजलमा प्रशोधन गरिएको पानी सो नगरपालिकाको वडा नंं ९ आरुबारीमा बनाईको दुई विशाल ट्यांकीमा खसेर शहरबासीलाई वितरण हुन्छ । तर, गोकर्णेश्वर नगरपालिकाको ५, ६, ८ र ९ मा खानेपानी उपलब्ध छैन ।

ती चार वडामा बसोबास गर्ने करिब १५ हजार घरधुरीमा रहेका ६० हजार बासिन्दाले खानेपानीको समस्या झेल्दै आएको ज्ञापन पत्रमा उल्लेख छ ।

बुधबार काठमाडौं क्षेत्र नं. ३ का सांसद शान्ति श्रेष्ठसहितको प्रतिनिधिमण्डलले गोकर्णेश्वर नगरपालिकाको ५, ६, ८ र ९ मा खानेपानी उपलब्ध गराउन ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री महिन्द्रप्रसाद राय यादवले स्वच्छ खानेपानी उपभोग गर्न पाउनु सबै नेपालीको नैसर्गिक अधिकार भएको बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “काठमाडौँ उपत्यकामा वितरण गर्न ल्याइएको खानेपानीको सङ्कलन केन्द्र वरपरका प्रभावित जनताले पानी पाउनुपर्छ भन्नेमा दुई मत छैन । स्वच्छ र शुद्ध खानेपानी पाउनु सबैको नैसर्गिक अधिकार हो ।”

ज्ञापनपत्र बुझ्दै उहाँले खानेपानीसम्बन्धी जनताको माग न्यायोचित रहेकाले यसलाई सम्बोधन गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्य, स्थानीय तहका प्रमुख तथा खानेपानी वितरणसँग सम्बन्धित सबै सरोकारवालासँगको छलफलपछि नागरिकका माग सम्बोधन गरिने बताउनुभयो ।

सो अवसरमा सांसद श्रेष्ठले ‘बत्तीमुनि अध्यारो’ भन्ने उखानजस्तै यहाँका जनतालाई आगामी सुक्खायाममा काकाकूलको अवस्था आउन नदिनेतर्फ ध्यान पुर्‍याउन मन्त्री यादवको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.