पोखरामा कलाकारहरुले क्यानभासमा उतारे स्व. रवीन्द्र र उहाँका कामलाई

समृद्ध नेपालको स्पष्ट खाका बोकेर सक्रिय रहँदाकै बखत हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारी र उहाँका कामलाई पोखराका कलाकारले आफ्नो क्यानभासमा उतारेका छन् ।
फागुन १५ नजिकिँदै गर्दा अधिकारीको प्रथम स्मृति दिवसका सन्दर्भमा यहाँका कलाकारले क्यानभासमा रवीन्द्र शीर्षक दिएर उहाँको व्यक्तित्व र कामलाई क्यानभासमा उतारेका हुन् ।
विभिन्न चित्राकृतिबाट रवीन्द्रको व्यक्तित्वलाई क्यानभासमा उतारिरहनुभएका कलाकार एवं कार्यक्रमका संयोजक रमेश श्रेष्ठले भन्नुभयो “मैले वर्षौँदेखिको मित्रता गुमाएको एक वर्ष पुग्यो । उहाँलाई क्यानभासमा उतार्न मलाई पीडा भइरहेको छ । शब्द हराएको छ, आँखा अगाडि उहाँको हँसिलो अनुहारले मेरा हातलाई अल्झाइरहेको छ । फेरि पनि एउटा प्रयास गरिरहेको छु ।”
कलाकार देवी राईले रवीन्द्रको व्यक्तित्वबाट आफू प्रभावित भएको र त्यसैलाई क्यानभासमा उतारेको बताउनुभयो । “मैले धेरै चोटि उहाँलाई भेटेको छु, सधैँ म उहाँको आदर्श व्यक्तित्वबाट प्रभावित भएको थिएँ । आज उहाँ हाम्रो माझ हुनुहुन्न, कलाको माध्यमबाट सम्झने प्रयास गरेको छु ।”
कलाकार कमल गुरुङले रवीन्द्रलाई विकासप्रेमी नेताका रुपमा चित्राकृतिमा उतारिएको बताउनुभयो । “ देशको एक विकासप्रेमी नेताका रूपमा चिनेको थिएँ, दूरदृष्टि भएको नेताको आत्मविश्वास भएको उहाँको अनुहारलाई ‘फोकस आउट’ गरेको छु ।”
कार्यशालामा पोखरा र काठमाडौँका १५ कलाकारको सहभागिता थियो । सिर्जना गरिएका कला फागुन १५ मा रवीन्द्र अधिकारी स्मृति दिवसमा प्रदर्शन गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको प्रथम स्मृतिमा उक्त कला कार्यशालाको आयोजना गरेको हो । गत वर्ष फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी अधिकारीसहित सात जनाको निधन भएको थियो । उहाँका ‘समृद्ध नेपाल’ र ‘लोकतन्त्र तथा संविधानसभा र राज्य पुनर्संरचना’ शीर्षक दुई पुस्तक प्रकाशित छन् । अधिकारीको सम्झनामा गत जेठ १८ गते प्रतिष्ठान स्थापना गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्