राजनीति

अहिलेको राजनीतिक पुस्ताले समाजलाई अशल चरित्र स्थापित गर्न सकेन

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको राजनीतिक पुस्ताले समाजलाई अशल चरित्रका आधारमा स्थापित गर्न नसकेकाले नयाँ पुस्ताको काँधमा अशल बन्ने जिम्मेवारी थपिएको बताउनुभएको छ ।

‘करियर प्वाइन्ट एजुकेसन सर्भिसेज’ ले स्वदेशमै उत्कृष्ट उच्चशिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले सोमबार आयोजना गरेको दोस्रो ‘करियर फेस्ट’ नामक मेलामा कक्षा १२ पछि उपयुक्त उच्चशिक्षको खोजीमा रहेका युवाहरुलाई प्रोत्साहित गर्दै उहाँले ‘माथिमाथि पुग्ने आकाङ्क्षा भन्दा तलतलबाट सागरमा पुग्ने लक्ष्य लिएमा प्रगतिपथमा पुगिने तर त्यसका लागि निरन्तर बगिरहनुपर्ने’ सन्देश दिनुभयो ।

टेलिभिजन कार्यक्रम ‘ऐना’ का प्रस्तोता उहाँले समाजमा लोकतान्त्रिक अधिकार, विकास र समृद्धिका नारा स्थापित भए पनि व्यवहारमा हत्या, हिंसा र अन्याय कायम रहेकाले यसलाई चिर्न सक्ने नयाँ नेतृत्वको खाँचो रहेको औल्याउनुभयो ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले ‘उज्यालो नेपाल अभियान’ को आधारभूमिबारे व्याख्या गर्दै हरेक व्यक्तिले आफूमा रहेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेमा देश समृद्ध हुने बताउनुभयो । उहाँले कठिन स्थितिमा पनि जोखिम मोलेर समयमा निर्णय लिने तथा परम्परागत कर्मचारीतन्त्रलाई त्यागेर सेवाग्राहीको सेवा र विश्वास आर्जन गर्न समर्पित भएमा हरेक संस्थाका व्यवस्थापक र व्यावयायी सफल हुने अनुभव सुनाउनुभयो ।

टेक्सस इन्टरनेशनल कलेजका प्रिन्सिपल भेषराज पोखरेलले आफूहरु विद्यार्थी हुँदा पनि नेताहरुले लोकतन्त्रकै पाठ सिकाउने गरेको र आफू शिक्षक हुँदा पनि उही लोकतन्त्रबारे सुन्नुपर्ने स्थितिबाट युवाहरुलाई मुक्त गराई स्वदेशमै आफ्नो ज्ञान, सीप र क्षमताको सदुपयोग हुने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

मेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यलाय, पोखरा विश्वविद्यालय आदिबाट सम्बन्धनप्राप्त व्यवस्थापन र सूचना तथा सञ्चार प्रविधि विषयमा अध्यापन गर्ने कलेजका २० भन्दा बढी स्टल रहने तथा दुई हजार भन्दा बढी विद्यार्थीले अवलोकन गरेको सो सर्भिसेजका प्रबन्ध निर्देशक विशाल केसीले जानकारी दिनुभयो ।

उच्चशिक्षाको तयारीमा रहेका विद्यार्थीलाई केन्द्रित गरेर ‘नेपाल टिन लिडर्स’ को सहयोगमा आयोजना भएको मेलामा विज्ञबाट परामर्श र अनुभव आदानप्रदान गराइको थियो । सोही क्रममा विभिन्न कलेजले छात्रवृत्तिको सुविधा घोषणा गरिएको थियो । सोही क्रममा नबील बैँकका नायब कार्यकारी निर्देशक मनोज ज्ञवाली, प्रस्तोता सन्दीप क्षेत्री, सृष्टि केसी, अल्मोडा राना उप्रेतीलगायतले विद्यार्थीको अशल तथा व्यावसायिक भविष्यका लागि अभिप्रेरणामूलक प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.