प्रचण्ड-नेपालले लड्डु खुवाउँदै मागे प्रधानमन्त्रीको राजीनामा, देउवाद्वारा फैसलाको स्वागत

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएपछि विभाजित नेकपाको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले एक आपसमा लड्डु खुवाएर खुसीयाली प्रकट गर्नुभएको छ ।
दुई अध्यक्षले एक अर्कालाई लड्डु खुवाएर कार्यकर्ताहरुलाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिंदै बुधबार तय गरिएको बिरोधसभालाई विजयसभामा परिणत गर्ने भएका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा अदालतबाट भएको फैसलाको स्वागत गर्नुभएको छ ।
उहाँले विज्ञप्तिमार्फत कांग्रेस विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्नुभएको हो । कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएकोसमेत सभापति देउवाले स्पष्ट पार्नुभएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको उहाँले विज्ञप्तिमा जनाउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्