खेल

खेल व्यवस्थापनमा स्नातकोत्तर रोमी भन्छिन्- विद्यालयतहबाटै मार्सलआर्ट प्रशिक्षण हुनुपर्छ

तेक्वान्दो प्रशिक्षक, रेफ्री तथा खेलकूद व्यवस्थापन र प्रशासनमा स्नातकोत्तर रोमी गिरी

नेपालको खेलकूदमा रोमी गिरीको परिचय एक विधामा मात्र सीमित छैन । काठमाडौंको पूर्वी क्षेत्रमा पर्ने गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा जन्मिएकी गिरीले उमेरभन्दा बढी योगदान खेलक्षेत्र र सामाजिक कार्यमा दिएकी छिन् । केही दिनअघि मात्रै दक्षिण कोरियाबाट ‘खेलकूद व्यवस्थापन र प्रशासन’मा स्नातकोत्तर गरी फर्केकी रोमी खेलकूद व्यवस्थापन विषयमा स्नातकोत्तर गर्ने सीमित नेपाली महिला बन्न सफल भएकी छिन् ।

परिवार नै खेलकूदमा संलग्न भएकाले रोमीलाई खेल्न मात्र हैन यस क्षेत्रका बारेमा अध्ययन र अनुसन्धान गर्न नै प्रेरित गर्यो । खेल्दाखेल्दै सन् २०१५ को मार्चमा रोमीले जापानमा युथ लिडरसिप क्याम्पमा भाग लिने मौका पाइन । यस्तै २०१६ स्वीट्जरल्याण्डको जेनेभामा संयुक्त राष्ट्र संघले आयोजना गरेको ओलम्पिक फ्लेम प्रिजेन्टेसन कार्यक्रममा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान कि मुन, इन्टरनेशनल ओलम्पिक किमटीका अध्यक्ष थोमस बाक लगायतका सहभागी कार्यक्रममा उनले सेरोेमोनिएल एम्बेसडरको रुपमा मन्तव्य समेत दिएकी थिइन् । त्यस्तो उपलब्धी हासिल गर्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।

लगातार विदेशका प्रशिक्षण र सेमिनारहरुले रोमीको लक्ष्यलाई अरु बलियो बनाउँदै गयो । स्वीटजरल्याण्डबाट फर्के लगत्तै दक्षिण एशियाली राष्ट्रहरुको सहभागिता रहेको सेमिनारबाट ओलम्पिक कमिटी लेभल र ओलम्पिक एथलेट्सहरुकोे सामिप्यताले अरु प्रेरित बन्न पुगिन् । त्यसपछिको निष्कर्ष रह्यो खेल क्षेत्रको व्यवस्थापनमा लाग्ने ।

सन् २०१८ मा विश्व तेक्वान्दो केयर कार्यक्रमको प्रमुख भएर काम गरेकी रोमीले एक वर्षमा तीन नेपालका लागि महिला सशक्तिकरण, श्रीलंकाका लागि रोड टु च्याम्पियनसीप र साउदी अरेबियाका लागि लैंगिक समानताका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

खेलाडीका रुपमा सक्रिय रहँदा विदेश भ्रमणको असवर पाएपछि रोमीको जीवनको लक्ष्य बदलियो । उनले आफ्नो लक्ष्य खेलकुदमा भन्दा पनि खेलकुदलाई नै नेतृत्व गर्ने हिसाबले अघि बढाइन् । रोमीले २०२० मा दक्षिण कोरियाको सिउल विश्वविद्यालयबाट खेलकूद व्यवस्थापनमा स्नातकोत्तर गरी स्वदेश फर्किन । उनको अध्ययन कार्यपत्रको विषय पनि खेलकूद नेतृत्वमा महिला सहभागिता र लैंगिक समानता रहेको थियो ।

खेलकूद व्यवस्थापनमा स्नातकोत्तर गर्ने खेलाडीका नाताले नेपालमा खेलकूदको अवस्था कस्तो छ भन्ने प्रश्नमा रोमी भन्छिन्– “दक्षिण एसियाली देशहरुको तुलनामा कमजोर भन्न मिल्दैन तर अन्तर्राष्ट्रिय ओलम्पिक जस्ता खेलहरुमा सफलता पाउन अझै कैयौं खुडकिलो चढ्नुपर्छ । खेलकूदको स्तर निर्धारण हुन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसम्म पुग्नुपर्ने हुन्छ । हामी अझै त्यहाँसम्म पुगिसकेका छैनौं । ओलम्पिक खेलमा भाग लिए पनि प्रतिस्पर्धामा हाम्रो प्रदर्शन निराशाजनक नै छ ।’

रोमी भन्छिन्– “हामी अहिले पनि दक्षिण एसियाली क्षेत्रमै रमाउनुपर्ने स्थिति छ । खेलकूदको सफलता कायम गर्न लामो दूरीको यात्रा तय गनुपर्छ । सानो सानो कुरालाई लिएर हामी अल्झिरहेका छौं । राजनीतिक अस्थिरता र खेलकूदमा राजनीतिकरणले गर्दा जुन गतिमा काम हुनुपर्ने हो त्यो हुन सकेको छैन । खेलकूदलाई बुझेको र नियाल्नसक्ने क्षमता भएका कमै मात्र छन् । यसकारण नेपाली खेलकूदमा अन्तर्राष्ट्रिय स्तरमा नाजुक नै छ ।”

भर्खर २६ वर्ष पुगेकी रोमीको सफलता र लक्ष्य लोभलाग्दो छ । खेलकूद व्यवस्थापनमा सक्रिय रोमी खेलाडी, प्रशिक्षक हुँदै राष्ट्रिय रेफ्री र अब खेलकूद विज्ञका रुपमा नेपालको खेलकूदमा लैंगिक समानता कायम गर्ने योजनामा सक्रिय छिन् । आफू संलग्न रहेको तेक्वान्दो केवल प्रतिस्पर्धामा भाग लिएर पदक जित्नका लागि मात्र नभएर हरेक व्यक्तिले खेलकूद गर्नैपर्ने सुझाव रोमीको छ ।

उनी भन्छिन्– “तेक्वान्दो सिक्ने हरेक व्यक्तिले खेलकुदमै करिअर बनाउनुपर्छ भन्ने होइन । यो शरीर सन्तुलनमा राख्न र आफ्नो सुरक्षा गर्न पनि प्रभावकारी हुन्छ  । विशेष गरी महिलाका लागि तेक्वान्दो आत्मरक्षा, आत्मविश्वास र व्यक्तित्व विकासका लागि निकै सघाउ पुग्छ ।”

उनी हरेक विद्यालयमा तेक्वान्दो जस्ता मार्सलआर्ट प्रशिक्षण हुनुपर्ने मान्यता राख्छिन् । यसले एकातिर राष्ट्रले प्रतिभाशाली खेलाडी पाउने बाटो खोल्छ भने बालबालिकाहरुले सहज ढंगले आत्मरक्षा पनि गर्न सक्छन्  । उनीहरुमा आत्मविश्वास, अनुशासन र लगनीलता पनि बढ्छ । त्यस्तै आजभोलि बढ्दो महिला हिंसा र हत्याको रोकथामका लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछिन् ।

उनी भन्छिन्– “खेलकूदले आत्मरक्षा, समाजिक सुरक्षाका अतिरिक्त बालबालिकामा आत्मविश्वास बढाउने, उनीहरूलाई अनुशासनमा बस्न र जीवनमा आउने चुनौतीको सामना गर्नसक्ने गरी दृढनिश्चयी बनाउन सघाउ पुग्छ ।”

रोमी गिरी नेपाली खेलकूदका लागि एउटा उदाहरणीय पात्र हुन् । खेलकुदमा भविष्य छैन, यो शरीरमा तागत रहँदा र निश्चित उमेरसम्म मात्र हो भन्नेहरुका लागि रोमीको सफलता दरिलो मार्गदर्शन बनेको छ । खेलकूदमै लागेर उच्चशिक्षा हाँसिल गर्न सकिन्छ, खेलकूद भनेको खेल्ने मात्र हैन यसको अनेक आयामहरुमा संलग्न रहेर मान, प्रतिष्ठासंगै भविष्य सुनिश्चित गर्न सकिन्छ भन्ने उदाहरण २६ वर्षकै उमेरमा उनले देखाएकी छिन् । नेपाली महिलाका लागि रोमी एउटा उदाहरणीय र अनुकरणीय पात्र हुन् ।

प्रस्तुति यादब देवकोटा

सम्बन्धित खबर

Back to top button