विश्व समाचार

सरकारी पेन्सनको सुनिश्चितताको माग गर्दै म्याड्रिडमा दुई लाख ५० हजारको प्रदर्शन

स्पेनमा आगामी महिना हुने संसदीय निर्वाचनको प्रमुख मुद्दामध्ये एक बनेको सरकारी पेन्सन प्रणालीको संरक्षणको माग गर्दै शनिबार राजधानी म्याड्रिडमा करिब दुई लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन्।

स्पेनको पेन्सन प्रणाली दीर्घकालसम्म धान्न सकिने अवस्था र जीवनयापनको बढ्दो लागतलाई लिएर राजनीतिक विवाद चर्किरहेका बेला यो प्रदर्शन भएको हो। समाजवादी प्रधानमन्त्री पेद्रो सान्चेजले दक्षिणपन्थी दलहरूले मुद्रास्फीतिअनुसार पेन्सन बढाउने व्यवस्थालाई कमजोर पार्न खोजेको आरोप लगाउनुभएको छ।

प्रदर्शनकारीहरू राजधानीको आटोचा रेल स्टेसनदेखि ग्रान भिया सडकसम्म शान्तिपूर्ण रूपमा अघि बढेका थिए। ग्रान भिया म्याड्रिडको प्रमुख किनमेल मार्ग हो। प्रदर्शनलाई उत्सुक पर्यटकहरूले पनि नियालेका थिए।

म्याड्रिडका अधिकारीहरूले एएफपीलाई बताएअनुसार प्रदर्शनमा करिब दुई लाख ५० हजार मानिस सहभागी भएका थिए। उनीहरूमध्ये केहीले ‘हाम्रो पेन्सनको संरक्षण गरौँ र यसको सुनिश्चितता गरौँ’ लेखिएका ब्यानर बोकेका थिए।

दक्षिणी सहर सेभियामा कार्यरत ३८ वर्षीय सरकारी कर्मचारी हुआन फर्नान्डेजले आफूले भविष्यमा पेन्सन पाउने हो कि होइन भन्नेमा निश्चित हुन नसकेको बताउनुभयो। उहाँले पेन्सन प्रणालीलाई निजीकरण गर्ने कुनै पनि प्रयासको विरोध गर्नुभयो।

‘निजीकरण गरिएको पेन्सन प्रणालीको कुनै पनि हिस्साको मूल्य सेयर बजारको अवस्थासँग जोडिनेछ। त्यसमा केहीले फाइदा पाउनेछन् भने केहीले गुमाउनेछन्,’ उहाँले एएफपीलाई भन्नुभयो।

यसै महिनाको सुरुतिर दक्षिणपन्थी विपक्षी दल पपुलर पार्टी (पीपी) की सांसद एस्टर मुनोजले वर्तमान पेन्सन प्रणाली ‘ढल्ने’ चेतावनी दिँदै यसलाई परिवर्तन गर्नुपर्ने बताउनुभएको थियो। उहाँको भनाइपछि सरकारले आलोचना गरेको थियो।

‘पेन्सनको विषयमा कुनै सम्झौता हुनु हुँदैन,’ अवकाश लिने समय नजिकिँदै गरेकी ६४ वर्षीया पिलारले आफ्नो थर खुलाउन नचाहँदै एएफपीलाई बताउनुभयो।

उहाँले ‘हरेक कुरालाई निजीकरण गर्ने प्रवृत्ति’ को आलोचना गर्नुभयो। पछिल्ला केही सातामा आवासको बढ्दो लागत र भाडामा बस्नेहरूको सुरक्षाको अभावविरुद्ध भएका प्रदर्शनप्रति पनि उहाँले खुसी व्यक्त गर्नुभयो।

‘मलाई लाग्छ, आवास सङ्कटले युवाहरूलाई झकझक्याएको छ,’ उहाँले भन्नुभयो। उहाँले स्पेनी नागरिकहरूलाई ‘हामीले मेहनत गरेर हासिल गरेका सबै कुराको रक्षा गर्न’ आग्रह गर्नुभयो। उहाँका अनुसार यसमा पेन्सन मात्र नभई स्वास्थ्य र शिक्षा जस्ता सार्वजनिक सेवाहरू पनि पर्छन्।

पीपीका नेता अल्बेर्तो नुनेज फेइजुले सोमबार आफ्नो पार्टीले आगामी नोभेम्बर २९ को निर्वाचन जितेर आफू प्रधानमन्त्री बनेमा हरेक वर्ष मुद्रास्फीतिअनुसार पेन्सन बढाउने व्यवस्था जारी राख्ने बताउनुभएको थियो।

प्रधानमन्त्री सान्चेजले भने पीपीले सन् २०२२ देखि लागू मुद्रास्फीतिअनुसार पेन्सन बढाउने व्यवस्थामाथि प्रश्न उठाइरहेको आरोप लगाउनुभएको छ।

उक्त व्यवस्था लागू गर्ने कानुनको पक्षमा पीपीले मतदान नगरेको उहाँको भनाइ छ। स्पेनमा करिब ६८ लाख मानिसले सरकारी पेन्सन प्राप्त गर्छन्।

सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सेप्टेम्बर महिनासम्ममा औसत मासिक पेन्सन रकम एक हजार ५७६ युरो (एक हजार ७६५ अमेरिकी डलर) रहेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.