राजनीति

रवीन्द्र अधिकारी स्मृति पत्रकारिता पुरस्कार स्थापना हुने

नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्रप्रसाद अधिकारीको नाममा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ ।

स्व. अधिकारीको नाममा स्थापना भएको रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले सो पुरस्कार स्थापना गर्न लागेको हो । स्व. अधिकारीको तेस्रो स्मृति दिवसका सन्दर्भमा शनिवार पोखरामा आयोजित रवीन्द्र अधिकारी र मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।

प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएकी एमाले केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य एवं स्वर्गीय अधिकारिकी धर्मपत्नी बिद्या भट्टराई अधिकारीले समाज विकासका लागि विभिन्न क्षेत्रमा रवीन्द्रले पुर्याउनु भएको योगदानलाई आम जनतासम्म पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने, विकास र पर्यटन क्षेत्रमा कलम चलाउने संचारकर्मीलाई सम्मान स्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिनुभयो ।

सो पुरस्कार यस वर्षबाट रु २५ लाखको अक्षय कोष स्थापना गरी शुरूवात गरिने बताउदै अधिकारीको जन्म दिन वैशाख २२ गतेका दिन उक्त पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका महासचिव धनराज आचार्यले तेस्रो स्मृति दिवस यस वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी त्रिदिवसीय रुपमा मनाउन लागिएको जानकारी दिनुभयो ।

जसअनुसार फागुन १४ गते दिउँसो ४ बजे रवीन्द्र अधिकारी र मिडिया विषयमा अन्तरक्रिया कार्यक्रम, फागुन १५ गते विहान आठ बजे शहीद स्मृति पार्कमा रहेको स्वर्गीय अधिकारीको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली कार्यक्रम तथा सोही दिन पोखरा उद्योग बाणिज्य संघको हलमा बिहान एघार बजे रवीन्द्र स्मृति दिवस समारोह र फागुन १६ गते बिहान ११ बजे पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी राजनीति, विकास र रवीन्द्र अधिकारी विषयमा परिसम्वाद कार्यक्रम आयोजना गरिने आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री बिनोद प्रतीक, अग्रज पत्रकार पुण्य पौडेल, पत्रकार महासंघ कास्किका अध्यक्ष बिमला भण्डारी, प्रतिष्ठानका सदस्य सुष्मा पौडेल लगायतका संचाकर्मीहरुले रवीन्द्र अधिकारीले संचार लगायत बिबिध क्षेत्रमा पुर्याएको योगदानको बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.