भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते
चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।
सरकारी अधिकारीका अनुसार, प्रदर्शनकारीहरूले प्रहरी चौकी, सरकारी कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनी गरेका छन् ।
मुख्यमन्त्री पेमा खाण्डुका अनुसार, सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्ने प्रस्ताव गरेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’ विरुद्धको प्रदर्शनका क्रममा शुक्रबार राति हिंसा भड्किएको थियो ।
खाण्डुले शनिबार पत्रकारहरूसँग भीडले ठूलो मात्रामा सम्पत्ति नष्ट गरेको बताउनुभयो । प्रदर्शनकारीहरूले प्रहरी चौकी र एनएचपीसीको कार्यालयमा तोडफोड गर्नुका साथै निर्वाचित जनप्रतिनिधिका घरमा लुटपाट गरेको उहाँले जानकारी दिनुभयो ।
प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर करिब ४० जना प्रहरी घाइते भएका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । मुख्यमन्त्री खाण्डुले परियोजनाको विरोध गरिरहेका स्थानीयलाई हिंसाको बाटो त्यागेर सरकारसँग वार्ता गर्न आग्रह गर्नुभयो ।
भारतले तिब्बतमा चीनले निर्माण गर्न लागेको विशाल जलविद्युत् परियोजनाको सम्भावित प्रभावलाई ध्यानमा राख्दै आफ्नो बाँध परियोजना आवश्यक रहेको बताउँदै आएको छ ।
करिब १६७ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको चिनियाँ परियोजना विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्न सक्ने बताइएको छ ।
चिनियाँ बाँधका कारण ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव प्रभावित हुन सक्ने भारतको चिन्ता छ । प्रस्तावित भारतीय बाँधमा विशाल जलाशय निर्माण गरी नदीमा पानीको बहाव कायम राख्न सकिने नयाँ दिल्लीको भनाइ छ । तर, बेइजिङले आफ्नो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक असर नपार्ने दाबी गरेको छ ।
भारतको प्रस्तावित बाँध परियोजनाको स्थानीय समुदायले पनि विरोध गर्दै आएका छन् । परियोजना निर्माण भए आफूहरूले घर र जमिन गुमाउनुपर्ने उनीहरूको चिन्ता छ ।
यस विवादले भारत र चीनबीच हिमालय क्षेत्रमा कायम सीमा तनावलाई थप उजागर गरेको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा दाबी गर्दै आएको छ भने भारतले उक्त राज्य आफ्नो अभिन्न भू–भाग भएको बताउँदै आएको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शुक्रबार सीमा क्षेत्रमा तनाव व्यवस्थापन गर्न दुवै देशका अधिकारी नियमित सम्पर्कमा रहेको बताउनुभएको थियो ।
उहाँका अनुसार, सीमा क्षेत्रमा चिनियाँ सेनाले नियमित गस्तीको स्थापित ढाँचाभन्दा फरक गतिविधि गर्दा बेलाबेलामा तनाव उत्पन्न हुने गरेको छ ।
दुवै पक्षले कूटनीतिक तथा सैन्य संयन्त्रमार्फत बाँकी विवाद समाधान गर्न र गलत बुझाइबाट उत्पन्न हुन सक्ने तनाव रोक्न प्रयास गरिरहेको उहाँले बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्