जल/वातावरण

नेपाल कारोनाको उच्च जोखिममा : विश्वभर दुई हजार ८ सय ७३ जनाको मृत्यु

नेपालको उत्तरी छिमेकी मुलुक चीन हुँदै विश्वभर फैलदै गएको कोरोना भाइरसबाट नेपालमा संक्रमित फेला नपरे पनि नेपाल उच्च जोखिममा रहेको बताइएको छ । सक्रमण भएका देशबाट आउनेलाई नेपालमा बिनारोकतोक प्रवेश दिइएका कारण कुनै पनि बेला संक्रमण फैलने चेतावनी दिइएको हो ।

विश्वभर शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८ सय ७३ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको र विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा सङ्क्रमण भएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित देशका अधिकारीले पुष्टि गरेको तथ्याङ्कमा बताइएको छ ।

सम्बन्धित मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा जनाइएको छ ।

बिहीबार साँझपछि उक्त भाइरसको सङ्क्रमण एक हजार २९३ थप व्यक्तिमा देखिएको छ । मूख्यभूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८२४ जनालाई सङ्क्रमण पुष्टि भैसकेको छ । ग्रीनवीच समय अनुसार बिहबिार साँझ ५ बजेपछि शुक्रबार दिउसो १ बजेसम्म चीनमा थप ४१ जनाको मृत्यु भएको छ भने ३२७ जना नयाँ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ ।

यसबाहेक विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्ति सङ्क्रमित भएका छन् भने चीनबाहेक अन्य मुलुकमा कूल ८५ जनाको मृत्यु भएको छ । विश्वभर यो अवधिमा थप ९६६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

चीनबाहेक सङ्क्रमण बढी देखिएका मुलुकहरूमा दक्षिण कोरिया अग्रस्थानमा रहेको छ । दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म दुई हजार ३३७ जनालाई सङ्क्रमणको पुष्टि भएकोमा थप ५७१ जनामा विगत २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको हो । दक्षिण कोरियामा सङ्क्रमणपछि उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ । त्यस्तै इटलीमा १२२ नयाँ सङ्क्रमित व्यक्तिसहित ६५० जनाले सङ्क्रमणपछि विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन् । यस सङ्क्रमणका कारण इटलीमा १७ जनाको मृत्यु भइसकेको छ ।

इरानको सरकारी तथ्याङ्कमा उल्लेख भएअनुसार शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको छ भने कूल १४३ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । इरानमा सङ्क्रमितको सङ्ख्या ३८८ पुगेको छ ।

त्यस्तै यसबाहेक जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । जापानका अन्य स्थानमा कूल २१० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र आठ जनाको मृत्यु भएको बताइएको छ । जापानमा विगत २४ घण्टामा २३ नयाँ विरामीमा कोरोना भाइरसको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य राष्ट्रलाई सतर्क रहन चेतावनी दिएको थियो । डब्लुएचओले विश्वका ५० भन्दा धेरै देशमा यसको संक्रमण देखिएको बताइरहँदा ती देशबाट नेपाल भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा नेपाल सरकारको कुनै तयारी छैन ।

जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक ट्रेडोसमा एडानोम गेहब्रेयससले कुनै पनि मुलुकमा कोभिड–१९ भित्रिन्न भनेर बस्नु नहुने भन्दै सचेत रहन सुझाव दिएका थिए ।

स्वास्थ्य परीक्षणका नाममा शरीरको तापक्रम नाप्ने बाहेक अर्को बिधि नअपनाइएको चीनबाटै नेपाल फर्कनेहरुले नै बताएरहेका छन् । दुई साताअघि चीनको सियामेनबाट काठमाडौं आएकी एक विद्यार्थीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कारोना परीक्षणको नाममाा सामान्य जाँच मात्रै भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.