पूर्वराजा ज्ञानेन्द्रद्वारा बाढीपीडितको उद्धार, खोजी र राहतमा तीव्रता दिन आग्रह
पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै खोजी, उद्धार, राहत तथा उपचारका कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ।
पूर्वराजा शाहले बुधबार देशवासीका नाममा सन्देश जारी गर्दै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदीतटीय क्षेत्रमा रहेका बजार, बस्ती तथा नागरिक प्रभावित हुनुभएको उल्लेख गर्नुभएको छ।
बाढीका कारण बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना, खेतीपाती लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको उल्लेख गर्दै उहाँले घटनाले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताउनुभएको छ।
उहाँले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिक, सुरक्षाकर्मी लगायतको खोजी कार्य तत्काल तीव्र बनाउन आग्रह गर्नुभएको छ।
‘खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन’ सम्बन्धित सबै निकायलाई आग्रह गर्दै पूर्वराजा शाहले सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक सङ्घ–संस्था तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ।
विपत्तिमा पर्नुभएकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ। विपद्को यस्तो कठिन घडीमा आपसी सहयोग, समन्वय र मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने उहाँको सन्देश छ।
सीमासँग जोडिएका छिमेकी मुलुकमा आएको प्राकृतिक विपत्तिले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने उल्लेख गर्दै पूर्वराजा शाहले यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि अलग–अलग प्रयासभन्दा नेपाल, भारत र चीनबीचको त्रिदेशीय संयुक्त प्रयास अझ प्रभावकारी हुने धारणा व्यक्त गर्नुभएको छ।





प्रतिक्रिया राख्नुहोस्