जन सरोकार

क्वारेन्टाइनबाट घर फर्किए वुहानबाट आएका अठार जना

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बसाइँ पूरा गरी आइतबार घर फर्किएको छ ।

नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको जहाजका चालकसहित १८ जनाको शनिबार सङ्कलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नपाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १५औँ दिनमा आज अपराह्न ४ः३० बजे घर फर्काइएको हो ।

उनीहरुलाई नेपाल वायु सेवा निगमका कर्मचारीसमेत लिन आएका थिए । उहाँ रहेका १८ जनालाई आज बिदाइ गरी घर फर्काइएको सुरक्षाको नेतृत्व गरिरहेको नेपाली सेनाको वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जानकारी दिनुभयो । उहाँले क्वारेनटाइन राख्न हँुदैन भन्दै विरोध गर्ने स्थानीय बासिन्दा आज भने यही आएर बिदाइ गरेको जानकारी दिनुभयो ।

यसअघि यही फागुन ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने दोश्रो पटक क्वारेन्टाइन बसेको १४औँ दिनमा शनिबार स्वाब नमूना सङ्कलन गरिएको थियो ।

यता खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जनाको भने अझै रिपोर्ट आएको छैन । शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको छ । उनीहरुको रिपोर्ट सोमबारसम्म आउनसक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

धेरै जनाको स्वाब नमूना एकै पटक परीक्षण गर्नुपर्ने भएकाले समय लाग्ने र सबैको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको आयो भने मात्रै घर फर्काइने भएको हो । मन्त्रालयका अनुसार १७५ जनामध्ये एक जनामा मात्रै कोरोना सङ्क्रमणको लक्षण देखियो भने पनि सबैलाई फेरी अर्को १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ ।

खरिपाटी क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा रहनु भएका नेपाली सेनाका क्याप्टेन डा निवन फुयाँलले अहिलेसम्म क्वारेन्टाइनमा रहेका कसैमा पनि ज्वरो आउने, रुघा लाग्नेजस्ता कुनै लक्षण नदेखिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.