आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सरकार अघि बढेको छ : महासचिव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर वर्तमान सरकार अघि बढेको बताउनुभएको छ । जनयुद्ध अध्ययन प्रतिष्ठानले आज तनहुँमा आयोजना गरेको ‘अमरगाथा’ पुस्तक विमोचन एवं सहिद सम्मान कार्यक्रममा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले आर्थिक समृद्धिलाई नै केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्रीको कुशल नेतृत्वका कारण मुलुक विकासको बाटोमा अग्रसर भएकाले वर्तमान सरकारलाई सहयोग गर्नु सबै राजनीतिक दलको दायित्व भएको महासचिव गुरुङले बताउनुभयो । जनजीविकाका सवाल, आर्थिक समृद्धि, सुशासन कायम गर्न सरकार क्रियाशील रहेको बताउँदै उहाँले भन्नुभयो, “यी सबै चुनौतीलाई पूरा गर्न प्रचण्ड नेतृत्वको सरकार लागिपरेको छ । यो सरकार आर्थिक चुनौतीको सामना गर्दै समृद्धि गर्दै हासिल गर्न अगाडि बढिरहेको छ ।” सबै दलबीच सहमति र सहकार्य आवश्यक भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “सबै दलबीच राष्ट्रिय एकता कायम गर्न नेकपा (माओवादी केन्द्र)ले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।”
सहिदको बलिदान र योगदानले मुलुकमा गणतन्त्र स्थापना भएकाले यसको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती भएको महासचिव गुरुङको भनाइ थियो ।
महासचिव गुरुङले प्रतिष्ठानकी अध्यक्ष आशा कोइरालाले लेख्नुभएको ‘अमरगाथा’ पुस्तक विमोचन गर्नुभयो । सोही अवसरमा जिल्लाका सहिद तथा बेपत्ता परिवारका सदस्यलाई गुरुङले सम्मान गर्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्