कर्णाली र सुदूरपश्चिम केन्द्रित बजेट आउँछ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कर्णाली र सुदूरपश्चिम केन्द्रित आउने बताउनुभएको छ ।
नेपाली कांग्रेस सुर्खेत गुर्भाकोट नगरपालिकाद्वारा शनिबार आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उपसभापति खड्काले कम जनसङ्ख्या भए पनि ठूलो भूगोल ओगटेको कर्णाली तथा सुदूरपश्चिम प्रदेश केन्द्रित बजेट आउने बताउनुभएको हो । दुवै प्रदेशका लागि न्यून बजेट विनियोजन हुने सङ्घीय सरकारको यसअघिको परम्परालाई तोडिने उहाँको दाबी थियो ।
“वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेता विसं २०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कर्णालीका भएका चुनावी अभियानमा मैले नै बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न प्रस्ताव गरेको थिएँ”, उहाँले भन्नुभयो, “यसमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो । अब त्यही मर्म अनुसार काम हुन्छ ।”
पूर्व गृहमन्त्रीसमेत रहनुभएका उपसभापति खड्काले भेरी नदी किनारमा नयाँ सहर निर्माणको काम सुरु गरिएको बताउनुभयो । छन्चुदेखि उत्तर जोड्ने सडक चार लेनको बनाउन ठेक्का आह्वान गरिएको उहाँको भनाइ छ । मदन भण्डारी राजमार्ग कालोपत्र, भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको छ ।
उहाँले सरकार बिस्तारका विषयमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्र छलफल हुने जानकारी दिनुभयो । उपसभापति खड्काले भन्नुभयो, “राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुन्छ । त्यसपछि मात्र प्रधानमन्त्री दाहाल नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुन्छ ।”





प्रतिक्रिया राख्नुहोस्