राजनीति

सीमा शहीद गौतमको चौथो स्मृति दिवस

मातृभूमिको रक्षाका लागि ज्यानको आहुति दिने कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ आनन्द बजारका ३६ वर्षीय शहीद गोविन्द गौतमको बुधबार चौथो स्मृति दिवस मनाइएको छ । दिवसका अवसरमा नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले शहीद गोविन्द गौतमको शालिकमा माल्यार्पण गर्दै नेपाली भूमिरक्षाका लागि आफ्नो ज्यानको आहुति दिएका शहीद गौतम देशकै आदर्शका रुपमा रहेको बताउनुभयो ।

कार्यक्रमा उहाँले शहीद गौतमका छोरीलाई नगरपालिकाका तर्फबाट पठनपाठनका लागि सघाउ पुर्याउन आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । नगर प्रमुख थापाले शहीद गौतमका परिवारलाई नगरपालिकाबाट हुनसक्ने सहयोग निरन्तररुपमा गरिने बताउनुभयो । शहीद गौतमको स्मृतिमा उद्यान निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाइने उहाँको भनाइ थियो ।

कार्यक्रममा शहीद गौतमका बुवालाई नगर प्रमुख थापाले दोसल्ला ओढाइ सम्मानसमेत गर्नुभएको छ । “हिजोका दिनमा भारतको रानी नगरमा सीमा पिल्लर देखेका थियौँ”, नगर प्रमुख थापाले भन्नुभयो, “अहिले भारतले नेपाली स्वामित्व भएको जमीन पनि कब्जा गरेको छ ।”

सीमा क्षेत्रका जनतामाथिको भारतीय ज्यादति सशस्त्र प्रहरी बलका बिओपी राखिएपछि केही कम भए पनि भारतसँगको सीमा क्षेत्रका विवाद यथावत रहेको उहाँले बताउनुभयो । विसं २०७३ फागुन २६ गते भारतीय सीमासुरक्षा बल एसएसबीले गोली हानी गौतमको हत्या गरेका थिए । बुवा खेमलाल र आमा हरिनादेवीका तीन सन्तानमध्ये गोविन्द माइला छोरा हुन् । कल्भर्ट राख्ने विषयमा विवाद हुदा भारतीय एसएसवीले गौतममाथि गोली प्रहार गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.