जापान

पूर्वप्रेमिकाको हत्या आरोपमा २९ वर्षीय युवकद्वारा अपराध स्वीकार

एक जापानी युवकले आफ्नी पूर्वप्रेमीकाको हत्या गरेको स्वीकार गरेका छन् । इबाराकी प्रिफेक्चरस्थित मिटोमा गत वर्षको अन्त्यतिर पूर्वप्रेमिकाको पिछा गरी उनकै अपार्टमेन्टमा हत्या गरेको आरोप २९ वर्षीय एक युवकले सोमबार स्वीकार गरेका हुन्।

मिटो जिल्ला अदालतमा भएको ‘ले-जज’ अर्थात् सर्वसाधारणसहितको इजलासबाट सुनुवाइ हुने मुद्दाको पहिलो सुनुवाइमा ताकुमी ओउचीले ३१ वर्षीया नेल आर्टिस्ट हारुका कोमात्सुमोतोको पिछा गरेको र हत्या गरेको आरोप स्वीकार गरेका हुन्।

अनुसन्धानका क्रममा भने उनले आरोप अस्वीकार गरेका थिए भने पछि अनुसन्धानकर्ताका प्रश्नको जवाफ दिनसमेत अस्वीकार गरेका थिए।

अभियोगपत्रअनुसार ओउचीले गत डिसेम्बर ३१ मा कोमात्सुमोतोको टाउकोमा हथौडाले पटक–पटक प्रहार गर्नुका साथै चक्कुले घाँटीमा प्रहार गरी हत्या गरेको आरोप छ।

त्यसअघि डिसेम्बर २८ देखि उनी केही दिनसम्म कोमात्सुमोतोको अपार्टमेन्ट वरपर घुमिरहने तथा उनको कारमा गोप्य रूपमा ट्र्याकिङ उपकरण जडान गरेको अभियोगपत्रमा उल्लेख छ।

मुद्दाको प्रारम्भिक बहसका क्रममा सरकारी वकिलहरूले कोमात्सुमोतोले ओउचीसँग सम्बन्ध अन्त्य गर्ने निर्णय सुनाए पनि उनले त्यसलाई स्वीकार गर्न नसकेको बताएका छन्।

उनको फोन नम्बर ब्लक गरिएपछि ओउचीले आफूहरू भेट्नुअघिको समयमै फर्किएर आफ्नो जीवन ‘पुनः सुरु’ गर्न सकियोस् भन्ने सोच्दै उनको हत्या गर्ने योजना बनाउन थालेको सरकारी वकिलहरूको दाबी छ।

हत्या हुनुभन्दा पाँच दिनअघि उनले मिकी माउसको खेलौना किनेका थिए। त्यसमा ट्र्याकिङ उपकरण लुकाएर कोमात्सुमोतोले चिठ्ठा जितेको बहाना गर्दै उक्त खेलौना उनका आमाबुबाको घरमा पठाएका थिए।

उनले भोलिपल्ट उक्त खेलौना आफ्नो अपार्टमेन्टमा लगेपछि ओउचीले उनी कहाँ बस्छिन् भन्ने पत्ता लगाउन सफल भएको अभियोजन पक्षको भनाइ छ।

हत्याको एक दिनअघि ओउचीले डेलिभरी कर्मचारीको भेषमा देखिन हथौडा र टोपी किनेका थिए। हत्या भएको दिनको बिहान सबेरै उनले कोमात्सुमोतोको कारमा ट्र्याकिङ उपकरण जडान गरेको अभियोजन पक्षले जनाएको छ।

कोमात्सुमोतो घर फर्किएको पुष्टि गरेपछि ओउचीले उनको अपार्टमेन्टको प्रवेशद्वारमै आक्रमण गरेको अभियोगपत्रमा उल्लेख छ। यस मुद्दामा अदालतले आगामी सेप्टेम्बर ३० मा फैसला सुनाउने तय भएको छ।

– समाचार स्रोत द जापान टाइम्स

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.