जन सरोकार

बाँके र डोेटीमा आगलागी : दुईजना घाइते, लाखौंको क्षति

बुधबार विहान बाँके र डोटीमा आगलागी हुँदा दुईजना घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा गए राति करिब १२ बजेबाट शुरु भएको आगलागीमा त्यहाँ कार्यरत कामदार दिलीपकुमार चमार गम्भीर घाइते भएका छन् ।

शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उहाँलाई उपचारका लागि भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।आगलागी बिहान ८ बजेमात्रै पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

आगलागीबाट उद्योगको कच्चा पदार्थ र उत्पादित सबैजसो सामग्री नष्ट भएको छ । बाँके र बर्दियाका छ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको निरन्तरताको प्रयासले आठ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।

अमरजित सिंह र मनु केडियाले सञ्चालन गरेको उक्त उद्योगमा चप्पल, सरसफाइ ब्रस र पोछालगायतका सामग्री उत्पादन हुँदै आएको थियो । होली पर्वमा कामदार बिदामा रहेका कारण आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन नसकेको उहाँको भनाइ छ । आगलागीबाट ८÷१० करोड रुपैयाँ मूल्य बराबरका मालसामान जलेर नष्ट भएको सञ्चालक सिंहले दाबी छ । प्रहरीले क्षतिको यकिन विवरण संकलनको काम भइरहेको जनाएको छ ।

विद्युत्त लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरे पनि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

उता डोटीको जोरायल गाउँपालिकास्थित कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएका छन् ।बिहान करिब ४ बजेतिर भएको आगलागीमा कार्यालयमा बस्दै आएका ४५ वर्षीय खड्का जलेर गम्भिर घाइते भएका हुन् । घाइते खड्कालाई उपचारका लागि कैलालीतर्फ लैजाने तयारी भइरहेको डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएको खबर आएको छ, आगलागीको बारे बुझ्न प्रहरी टोली खटिएको छ, बिस्तृत खबर आउन बाँकी छ ।”

आगलागीबाट कार्यालयको एउटा कोठा जलेर नष्ट भएको बताइएको छ । स्थानीयवासी, कर्मचारी, इलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको टोलीले आज बिहान ५ बजेतिर मात्रै आगलागी नियन्त्रणमा लिएको स्थानीयवासी लोकेन्द्रबहादुर छेडालले जानकारी दिनुभयो । कार्यालयमा के कसरी आगलागी भयो भन्नेबारै यकिन खबर नआए पनि विद्युत् सर्ट भएर हुनसक्ने अनुमान स्थानीयवासीको छ । आगलागीका कारण कम्तीमा पनि ८÷१० लाख मूल्य बराबरको क्षति भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.