नेपाल प्रवेश गर्नखोज्ने छजना भारतीयमा ज्वरो देखिएपछि फिर्ता
स्थलमार्ग हुँदै पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्न लागेका ६ भारतीय नागरिकमा उच्च ज्वरो देखिएका कारण भारत फर्काइएको छ ।
प्रहरीका अनुसार भारतको बङ्गाल बस्ने १९ वर्षीय मुर्र हस्दा, २९ वर्षीय निक्ल हस्दा र सोही ठाउँका २१ वर्षीय राहुल मिया, विहारका २६ वर्षीय विद्युत सरकार, भारत उत्तरदिनातपुर निवासी ३२ वर्षीय दीपेश सरकार र मुण्डा गाउँका २९ वर्षीय समिर मुण्डालाई भारत फर्काइएको हो ।
काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका पाँच सय ६१ जनामा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा उच्च ज्वरो पाइएपछि भारत फर्काएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बिहीबार मात्रै कोरोना भाइरसको आशङ्कामा दुई युक्रेनी नागरिकलाई अध्यागमन कार्यालय काँकडभिट्टाले प्रवेषाज्ञामा रोक लगाएको थियो । भारतका सिक्किम, दार्जिलिङलगायत शहर भ्रमण गरी नेपाल प्रवेश गर्ने क्रममा युक्रेनी नागरिकमा समेत उच्च ज्वरो देखिएपछि भारत फर्काइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्